हरिकिसन मृत्युको निस्पक्ष छानबिनको माग सहित गृहमन्त्रीलाई ज्ञापनपत्र

अत्तरिया- कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ कमरीका भैँसीपालक किसान तथा दुग्ध व्यवसायी ५० वर्षीय हरिकिसन रानाको अग्निदाहबाट रहस्यमय मृत्युपछि रानाथारू समुदायका अगुवाहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल रानाथारू समाज तथा नेपाल रानाथारू युवा समाजका केन्द्रीय प्रतिनिधिहरूले आज बिहीबार काठमाडौँमा गृहमन्त्री लेखकलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

Navadurga sun

यही वैशाख ९ गते मंगलबार बिहान बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल शारदा आर्यघाट नजिकै हरिकिसन राना मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए ।

घटनालाई रहस्यमय र शङ्कास्पद मानिएको छ । ज्ञापन पत्रमा भनिएको छ, उक्त घटना शङ्कास्पद, रहस्यमयी रहेको तथा विविध सञ्चारमाध्यममा यस घटनासँग जोडिएर पुराना घटनाक्रम समेत सार्वजनिक भइरहेका छन् । आम जनमानसमा व्यापक चासो र आक्रोश देखिएको हुँदा शङ्कास्पद व्यक्तिहरूलाई यथाशीघ्र हिरासतमा लिई निष्पक्ष छानबिन गरियोस् ।

ज्ञापनपत्रमा हस्ताक्षर गर्ने प्रमुख व्यक्तिहरूमा नेपाल रानाथारू समाजका अध्यक्ष कमल सिंह राना, पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य कृपाराम राना, नेपाल रानाथारू युवा समाजका अध्यक्ष कमल राना, महासचिव अनिल राना, सचिव अर्जुन राना, केन्द्रीय सदस्य राम प्रताप राना, उपेन्द्र राना र अरूण सिंह बडायक रहेका छन् ।

रानाको मृत्युपछि कञ्चनपुरको स्थानीय स्तरदेखि केन्द्रसम्म रानाथारू समुदाय आक्रोशित देखिएको छ । उनीहरूले उक्त घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन सरकारसँग अपिल गरिरहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...