शिवराज भट्ट/पुर्चौंडी (बैतडी)- बैतडी समाज कैलालीले बैतडीको पुर्चौडीमा आयोजना गरेको स्वास्थ्य शिविरमा उद्घाटनकै दिन ११ सय ५ जनाले स्वास्थ्य परिक्षण गराएका छन ।
आफ्नो वार्षिक नियमीत कार्यक्रम अन्तर्गत बैतडी समाज कैलालीले यसपालीको स्वास्थ्य शिविर बैतडीको पुर्चौडीमा आयोजना गरेको हो । स्वास्थ्य शिविरका संयोजक गजेन्द्रबीर चन्दले उद्घाटनकै दिन ११ सय ५ जनाले स्वास्थ्य परिक्षण गरेको बताए ।
शिविरमा ७ जना विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका हुन । शिविरमा फिजिसियन डाक्टर चेतराज भट्ट, युरोलोजिष्ट डाक्टर जोनेश तिवारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर नर बहादुर मौनी, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर रविन्द्र भट्ट, मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्ट, दन्तरोग विशेषज्ञ डाक्टर सन्तोष कुमार पाण्डे, मेडिकल अफिसर डाक्टर रोहीत ठगुन्ना सहितको चिकित्सकको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा धनगढी नेत्रालयको नेत्र विशेषज्ञको टोलीले पनि १८७ जनाको आँखाको परिक्षण गरेको छ । आँखाको परीक्षणमा २५ जनाको शल्यक्रिया गरिने नेत्रालयका कार्यकारी निर्देशक गजेन्द्र बहादुर चन्दले बताए । आँखाको शल्यक्रियाका लागि वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त सहितको टोली पुर्चौंडी पुगिसकेको छ ।

शनिबार देखि आँखाको परिक्षण र शल्यक्रिया गरिने शिविर संयोजक चन्दले बताए । ‘पहिलो दिनमै २५ जना बिरामी आँखाको शल्यक्रिया गर्नुपर्ने खालका आएका छन । शनिबारदेखि डाक्टर पन्त सहितको टोलीले शल्यक्रिया गर्नेछ’ शिविर संयोजक चन्दले भने ।
शनिबार पुर्चौंडिमै वृहत रक्तदान महोत्सव पनि आयोजना हुने भएको छ । रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा कैलालीका प्रमुख धरणी प्रसाद पन्त सहितको टोली पुर्चौंडी पुगिसकेको छ ।
‘पुर्चौंडीमा रक्तदानमा कति सहभागि हुन्छन, थाहा छैन तर यो विकट क्षेत्रमा रक्तदान जीवन दान हो भनेर जनचेनतनाका लागि हामी यहाँ आएका हौं, यसले गाउँ गाउँमा रक्तदान गर्नुपर्छ भन्ने भावनाका विकास होला भन्ने आशा गरेका छौँ’ पन्तले भने ।
शिविरको शुक्रबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरेकी थिइन । उद्घाटन समारोहको अध्यक्षता पुचौंडी नगरपालिकाका प्रमुख दिपक बमले गरेका थिए ।
शिविरको उद्घाटन गर्दै राज्यमन्त्री खड्काले विकट विकट स्थानमा आएर बैतडी समाज कैलालीले गरिरहेको स्वास्थ्य शिविरको सराहना गरिन । ‘गाउँका धेरै जनता अझै विशेषज्ञ स्वास्थ्य सेवाबाट बञ्चित छन्, उनीहरूलाई शिविरले राहत भएको महसुस गरेकी छु’ राज्यमन्त्री खड्काले भनिन । शिविर बैशाख ७ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।