अत्तरियामा डिडीसी र मिल्क पाउडर प्लान्ट स्थापना तयारी सँगै उच्चस्तरीय टोलीद्वारा सम्भावित स्थानहरूको अवलोकन  

अत्तरिया- गोदावरी नगरपालिका–१ स्थित अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) सँगै मिल्क पाउडर प्लान्ट स्थापना गर्ने तयारी सँगै मंगलबार उच्चस्तरीय टोलीले सम्भावित स्थानहरूको अवलोकन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाको नेतृत्वमा गएको टोलीले चाहना सामुदायिक वन र दिव्य रोजिन एण्ड टर्पेन्टाइन कम्पनी अन्तर्गतको प्रयोगमा नरहेको जग्गा स्थलगत निरीक्षण गरेको हो ।

निरीक्षण पश्चात मन्त्री थापाले अत्तरियाको वातावरण र पूर्वाधार डीडीसी तथा मिल्क पाउडर प्लान्टका लागि उपयुक्त भएको टिप्पणी गरे । उनले नगरप्रमुखको समन्वयमा सबै निकाय एक ठाउँमा उभिएर आवश्यक जमिनको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । मन्त्री थापाले वन क्षेत्रको तुलनामा दिव्य रोजिन क्षेत्रको जग्गा प्रयोगमा ल्याउन सहज हुने भएकाले त्यस तर्फ प्राथमिकता दिनुपर्ने बताएका छन् ।

प्रदेश सरकारको योजना अनुसार चालु आर्थिक वर्षमा मिल्क पाउडर प्लान्टका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । ४० करोडको बहु–वर्षीय योजनाअन्तर्गत डीडीसीसँगै प्लान्ट स्थापना गर्ने सोच प्रदेश सरकारले अगाडि सारेको भए पनि आवश्यक जमिनको टुंगो लाग्न बाँकी छ ।

डीडीसीको हालको स्थानमा जमिन अभाव भएको भन्दै संघीय सरकारले यसलाई धनगढी सार्ने तयारी गरिरहेको जानकारी सार्वजनिक भएपछि, स्थानीय तह र समुदायले डीडीसी अत्तरियामै रहनुपर्ने आवाज बुलन्द बनाएका छन् ।

यसै सन्दर्भमा, मन्त्री थापासहितको टोलीमा अर्थ राज्यमन्त्री प्रकाश बम, प्रदेश सभा सदस्यहरू तुलसी देवकोटा, खेमादेवी विष्ट, जानकी कुँवर पौडेल, गोदावरी नगरप्रमुख वीरेन्द्र भट्ट, कार्यदल संयोजक गोपाल दत्त भट्ट, सदस्य लोक राज पाण्डे (आगो), चाहना सामुदायिक वन अध्यक्ष भीम विक लगायतको सहभागिता रहेको थियो ।

नगरप्रमुख भट्टले अत्तरियामा डीडीसीका लागि पर्याप्त जमिन नभए पनि गोदावरी क्षेत्रमै वैकल्पिक जमिनको व्यवस्था गर्न सकिने स्पष्ट पारे । उनले अत्तरियाबाट डीडीसी हटाउने प्रयासलाई स्वीकार गर्न नसकिने भन्दै, डीडीसी र प्रस्तावित मिल्क पाउडर प्लान्ट दुवै यहीँ राखिनुपर्नेमा जोड दिए ।

उनले भने, “हामी वनबाट आवश्यक जमिन पाउने दिशामा प्रयत्नरत छौँ, डीडीसी अत्तरियामै राख्न सबै उपाय अपनाउनेछौँ ।” त्यस्तै, कार्यदल सदस्य लोक राज पाण्डे (आगो) ले डीडीसीका परियोजना प्रमुखले स्थानीयसँग समन्वयबिना धनगढी सार्ने प्रयास गुपचुप रूपमा अघि बढाएको भन्दै त्यसलाई रोक्न जरुरी भएको बताए ।

गत पुस १६ गते गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको संयोजकत्वमा डीडीसीका लागि नयाँ स्थान खोज्न समिति गठन गरिएको थियो । कार्यदलले चाहना सामुदायिक वन र दिव्य रोजिन क्षेत्रको करिब २ बिगाहा ८ कट्ठा जमिन प्लान्ट स्थापनाका लागि उपयुक्त भएको निष्कर्ष निकालेको छ । त्यसपछि कार्यदल र क्षेत्रीय जनप्रतिनिधिहरूले चैत १८ गते मुख्यमन्त्री कमल बहादुर शाहलाई डीडीसी र मिल्क पाउडर प्लान्ट दुवै गोदावरीमै राख्न ज्ञापनपत्रसमेत बुझाएका थिए । 

Loading...