सुदूरपश्चिममा नयाँ शैक्षिक सत्रका लागि १७ लाख १६ हजार थान किताब आयो

धनगढी- सुदूरपश्चिम प्रदेशका लागि १७ लाख १६ हजार थान किताब धनगढी आएको छ । जनक शिक्षा सामाग्री केन्द्रले शैक्षिक सत्र २०८२ का लागि आवश्यक किताब धनगढी पठाएको हो ।

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि १८ लाख १७ हजार थान किताब आवश्यक पर्ने अनुमान गरिएको छ । शनिवारसम्म १७ लाख १६ हजार थान किताब धनगढी पुगेको छ । जनक शिक्षा सामाग्री केन्द्रले शनिवार मात्र थप २ वटा गाडी छापाखानाबाट धनगढीका लागि पठाएको छ । काठमाडौँबाट हिँडेको गाडी धनगढी पुगेपछि माग अनुसारको किताब ढुवानीको काम पूरा हुने जनक शिक्षा सामाग्री केन्द्र, प्रादेशिक कार्यालय, धनगढीले बताएको छ ।

जनक शिक्षा सामाग्री केन्द्र, धनगढीले किताब बिक्री–वितरणको कामसमेत गर्दै छ । छापाखानाबाट धनगढी आएका किताबहरूलाई चैत १७ गतेबाट पहाडी जिल्लामा पठाउन थालिएको हो । जनक शिक्षा सामाग्री केन्द्र, धनगढीका प्रमुख रामविनय श्रेष्ठले बाजुरा जिल्लाबाट किताब वितरणको काम सुरु गरेको बताएका छन् ।

उनले बाजुरा, दार्चुला, बझाङ र बैतडी जिल्लामा किताब पठाइएको बताए । जनक शिक्षा सामाग्री केन्द्र, धनगढीले बाजुराका लागि एक लाख नौ हजार २ सय ९६ थान, दार्चुलाका लागि ९५ हजार चार सय ६ थान, बझाङका लागि ७२ हजार पाँच सय ५० थान र बैतडीका लागि एक लाख एक हजार सात सय ७३ थान किताब पठाएको छ । जनक शिक्षा सामाग्री केन्द्र, धनगढीले शुक्रवारसम्म तीन लाख ७९ हजार २५ थान किताब पहाडी चार जिल्लाका लागि पठाएको हो । डोटी र अछामका लागि शनिवार किताब पठाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा सूचीकृत भएका एक सय ९४ व्यापारीहरू मार्फत जनक शिक्षाले किताब बिक्री–वितरण थालेको हो । सुदूरपश्चिम प्रदेशमा नयाँ शैक्षिक सत्र २०८२ का लागि चैत २९ गतेसम्म जिल्लाहरूमा किताब पुर्‍याउने लक्ष्य जनक शिक्षा सामाग्रीको छ । तर, स्थानीय तहहरु तथा विद्यालयहरूले किताबको माग नगरेकाले व्यापारीहरूलाई भने समस्या भएको छ ।

विद्यालयको माग अनुसार व्यापारीहरुले जनक शिक्षाबाट किताब लिने गरेका छन् । विद्यार्थीको सङ्ख्या नआएकाले व्यापारीहरूले बिताब ढुवानीमा सुमेत समय लगाउदैछन् । नयाँ शैक्षिक सत्रका लागि कक्षा ९ का अर्थशास्त्र, एक्षिक गणित र कम्प्युटर विषय मात्र परिवर्तन भएका छन् ।

Loading...