काठमाण्डौँमा शिक्षकहरुको नयाँ चरणको आन्दोलन सुरु

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशैभरका शिक्षकहरूले बुधबार देखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । यसका लागि देशैभरबाट शिक्षकहरू काठमाडौ पुग्नेक्रम जारी छ ।

शिक्षक महासंघको अगुवाइमा सुरु आन्दोलनको पहिलो दिन बुधबार र्‍याली निकालिएको शिक्षकहरुले जनाएका छन । महासंघको सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीका अनुसार र्‍यालीमा एक लाखबढी शिक्षक कर्मचारी सहभागी हुने अनुमान छ ।

गत शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको आन्दोलन हिंसात्मक बने पनि आफूहरुको आन्दोलन शान्तिपूर्ण बनाउन करिब ८ सय स्वयंसेवक परिचालन गरिएको उनको भनाइ छ ।

विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरू पुनः आन्दोलित बनेका हुन् । सहमति अनुसार ऐन जारी भए तत्काल आन्दोलन स्थगित गर्ने उनीहरूको प्रतिबद्धता छ । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरुसँग सरकारले असोज ५ गते ६ बुँदे सहमति गरेको थियो । तर आफूहरुको माग सम्बोधन हुने गरी तयार विधेयक संसदको शिक्षा समितिमा थन्क्याइएको दाबी सहित शिक्षकहरूले दबाब मूलक कार्यक्रम थालेको बताएका छन् ।

Loading...