नालापानी किल्लामा पुगे सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावल

धनगढी- सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल नालापानी किल्लामा पुगेका छन् । शुक्रबार नालापानी किल्ला पुगेका उनले नेपाली वीरताको गौरवमय इतिहासलाई सम्मान गर्दै यसको अन्तर्राष्ट्रिय प्रचार गर्नुपर्नेमा जोड दिए ।

उत्तराखण्डको देहरादुनमा आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटन महोत्सवका क्रममा उनले वीर बलभद्र कुँवर र उनका सहयोद्धाहरूको साहस र बलिदानको स्मरण गरे ।

रावलले भने, “वीरता सिमाना भन्दा परको विषय हो । नेपाली वीरताको गौरव कुनै निश्चित भूगोलमा सीमित हुनु हुँदैन, यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन जरुरी छ ।”

सन् १८१४–१८१६ को अङ्ग्रेज नेपाल युद्धमा बलभद्र कुँवरले नालापानीमा अद्वितीय साहस देखाएका थिए । अङ्ग्रेज सेनाले किल्ला कब्जा गर्न खोजे पनि बलभद्र र उनका सिपाहीहरूले वीरतापूर्वक प्रतिकार गरेका थिए। रावलले नेपाल सरकारले नालापानीलाई विश्व समक्ष चिनाउन पहल गर्नुपर्ने सुझाव पनि दिए ।

Loading...