

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रवार) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । रानाथारु समुदायको खखडेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको हो ।




कैलाली, कञ्चनपुरमा बसोबास रहेको यो समुदायले होरी पर्वको अन्तिम दिन खखडेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन् । सो पर्वको अवसरमा प्रदेशभरि शुक्रवार सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ ।


एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको महत्वपूर्ण दिन खखडेहरा मानिन्छ । माघ पूर्णिमादेखि रानाथारु समुदायको होरी पर्व सुरु भएको थियो ।
खखडेहरा फुटाएपछि पुरुषको होरी समापन हुने गरेको धनगढी गाउँका भलमनसा भज्जी रानाले बताए । महिलाले भने चैतको चराइँमा होरी समापन गर्ने चलन रहेको छ ।

