अछामको बयालपाटा अस्पताल आर्थिक संकटमा 

अछाम- अछामको बयालपाटा अस्पताल, जसले विदेशी दाताको सहयोगमा निःशुल्क विशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पताल आर्थिक संकटमा परेको छ । अस्पतालले मंगलबार जारी सूचनामा आवश्यक जनशक्ति, औषधि र सामग्रीको अभावका कारण जुनसुकै बेला सेवा प्रभावित हुन सक्ने जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काका अनुसार चालू आर्थिक वर्षमा अस्पतालका लागि ७ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ । तर, अस्पताल सञ्चालनका लागि वार्षिक २२ करोड आवश्यक पर्ने हुँदा समस्या भइरहेको छ । बजेट ढिलाइले गर्दा सेवा प्रवाहमै असर परेको अस्पताल प्रशासनले जनाएको छ ।

स्थानीय तहहरूले पनि अस्पताललाई सहयोग गरेका छन् । अछाम, बाजुरा र डोटीका विभिन्न पालिकाहरूले बजेट उपलब्ध गराएका छन्।

सन् २००८ मा स्थापना भएको यो अस्पतालले २०७८/०७९ सम्म ११ लाख ५२ हजार बिरामीलाई सेवा प्रदान गरिसकेको छ । मेडिकल निर्देशक डा. मन्दीप पाठकका अनुसार ग्रामीण भेगका हाडजोर्नी तथा अन्य जटिल समस्या भएका बिरामीहरूको उपचार यहाँ भइरहेको छ ।

हाल अस्पतालमा ७ जना विशेषज्ञ डाक्टर कार्यरत छन्। तर, आर्थिक संकटले गर्दा अस्पतालको निरन्तरता अनिश्चित  बन्दै गएको छ ।

Loading...