सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरू

डडेल्धुरा- सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरू भएको छ । चैत महिना सुरू भएसँगै बैतडी सहित सुदूरपश्चिम भरि भिटौला पर्व सुरू भएको हो ।

भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षका तर्फबाट दाजुभाइले भेट्ने चलनको रूपमा प्रचलित छ । आज देखि चेलीबेटीलाई भेट्ने दिन सुरू हुन्छ । चैत महिना खडेरीको महिना पनि हो । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ ।

Navadurga sun

पाटन नगपालिका–१० का जानकी भट्टका अनुसार अहिले भिटौला पर्वको महत्त्व झन बढ्दै गएको छ । पुरानो पुस्ता देखि युवापुस्ता सम्म यो संस्कृतिको निरन्तरता भइरहेको छ । होली पर्वको महत्त्व जस्तै सुदूरपश्चिममा यो पर्वको चलन निरन्तरता भइरहेको छ । ‘अरू संस्कृति बरू छोड्दै गएको पाइन्छ’, उनी भन्छिन्, ‘तर यो पर्वमा भाइबहिनीको भेट नभए खल्लो महसुस हुने गर्ने गर्दछ ।’

परम्परागत कथन अनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको छ । भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरीबहिनीका घरमा पुर्याउने चलन छ । माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँ छिमेकमा बाँड्ने चलन रहेको आलिताल गाउँपालिका–८ को जोगराज भट्टले बताए । 

पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चो समेत थाहा हुँदैन थियो । वसन्त ऋतुमा पराई घरमा छोरीचेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको संस्कृतका जानकार मुरलीधर अवस्थी बताउँछन् ।

चैतमा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्त्व अझै गाउँघरतिर घटेको छैन । यो महिनाभर एक रात दिदीबहिनीको घरमा बास बस्ने चलन रहेको छ । यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने विश्वास रहिआएको छ । 

भिटौलोमा स्थानीय परम्परा अनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमता अनुसार लुगा र गहनासमेत दिने चलन छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन छ ।

भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ । दाजुभाइ नभएका परिवारमा नजिकमा गएर भेट्ने चलन रहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...