अझै पाएनन् बझाङका भूकम्प पीडितले दोस्रो किस्ता

बझाङ- बझाङका भूकम्प प्रभावित परिवारले अस्थायी आवास निर्माणको दोस्रो किस्ताको रकम अझै पाउन सकेका छैनन् ।

गत वर्ष वैशाखमा नगरपालिकाले भूकम्प प्रभावित १८७ घरपरिवारलाई पहिलो किस्ताका रूपमा प्रतिपरिवार २५ हजार रुपियाँ उपलब्ध गराएको थियो । अस्थायी आवास निर्माण गरेपछि दोस्रो किस्ता उपलब्ध गराउने भनिए पनि १७ महिना बितिसक्दासमेत पीडितले उक्त रकम पाएका छैनन् ।

Navadurga sun

भूकम्प प्रभावित परिवारमध्ये केहीले गत फागुनमा र केहीले गत वैशाखमा पहिलो किस्ताको रकम पाए पनि दोस्रो किस्ता अझै भुक्तानी भएको छैनन् ।

भूकम्प प्रभावितले अस्थायी आवास निर्माण गरेर आवश्यक कागजात नगरपालिकामा बुझाए पनि रकम नपाएको गुनासो गरेका छन् । बुङ्गल नगरपालिका–५, ब्युनाडाका रामबहादुर विकले दोस्रो किस्ता रकम नपाउँदा कतिपय अस्थायी आवास अधुरै रहेका बताए । निर्माण सम्पन्न गरेका परिवारले साहुसँग लिएको ऋण तिर्न नसकेको उनले बताए ।

२०८० असोज १६ र २० गते गएको भूकम्पले भत्काएका घर पुनर्निर्माण गर्न नसक्दा प्रभावित परिवार अस्थायी टहरामै बस्न बाध्य छन् । लगातार दुई वर्षको जाडो टहरामै कटाउनु परेको पीडितको गुनासो छ ।

स्थानीय विपत् व्यवस्थापन समिति (एलडिएमसी) ले भूकम्प प्रभावित पहिचान गरी लाभग्राहीको विवरण विपत् पोर्टलमा प्रविष्ट गरेपछि जिल्ला विपत् व्यवस्थापन समितिले दोस्रो किस्ता अनुदान माग गर्नुपर्ने हुन्छ । तर, बुङ्गल नगरपालिकाले अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० बमोजिम आवश्यक प्रक्रिया समयमा पूरा नगरेकाले दोस्रो किस्ता रोकिएको हो ।

नगरपालिकाले पछि आवश्यक प्रक्रिया पूरा गरेर दोस्रो किस्ता माग गरे पनि हालसम्म जिल्ला विपत् व्यवस्थापन समितिबाट रकम प्राप्त नभएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद जोशीको भनाइ छ ।

बुङ्गल नगरपालिकाबाट स्पष्ट विवरण नआएकाले दोस्रो किस्ता रोकिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले बताए । उनले भने, ‘पहिलो किस्ता पाएका लाभग्राहीले मात्रै दोस्रो किस्ता पाउँछन् तर नगरपालिकाले दोस्रो किस्ता पाउने लाभग्राहीको सूचीमा थप गरी पठाएकाले भुक्तानी दिन नसकिएको हो ।’ जिल्लाका अन्य सबै पालिकाले दोस्रो किस्ताको रकम समयमै पाइसकेका छन् ।

भूकम्पपीडित परिवारको पुनर्स्थापना प्रक्रिया अघि बढाउन सरकारका तर्फबाट बझाङको जयपृथ्वी नगरपालिका–९, देवलमा आयोजना कार्यान्वयन एकाइ कार्यालय स्थापना गरिएको छ । प्रभावितले अस्थायी आवास निर्माणको दोस्रो किस्तासमेत नपाएको अवस्थामा गृहमन्त्री रमेश लेखकले भने भूकम्प प्रभावितको निजी घर तीन महिना भित्र पुनर्निर्माण गरि सक्ने गरी काम गर्न निर्देशन दिए। गत वर्ष असोज १६ र २० गते बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण बझाङमा चार हजार ८५८ घर क्षतिग्रस्त भएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...