

बैतडी- बैतडीका विद्यालयहरूले शिक्षकहरूको तलब जोहो गर्न होली खेलि रहेका छन् । जिल्लाका विभिन्न विद्यालयहरूले निजी स्रोतमा शिक्षक राखेर विद्यालय सञ्चालन गर्दै आएका छन् । उनीहरूले शिक्षकको तलब जोहो गर्न होली खेल्दै छन् ।


विद्यालयमा कोष जम्मा गर्न होली आयोजना गरिएको पाटन नगरपालिका–९ को सिद्धेश्वर माध्यमिक विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए ।




निजी स्रोतमा शिक्षक राखेर विद्यालय सञ्चालन गर्न असहज भएपछि बैतडीका धेरै जसो विद्यालयले होली खेलेर तलबका लागि खर्च जोहो गरिरहेका हुन् । होली र देउसी–भैलो खेलेर हरेक वर्ष तीन/चार लाख रुपियाँ सङ्कलन गर्न सकेकाले निजी स्रोतका शिक्षकको तलब बेहोरिरहेको सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाटले बताए ।
विद्यालयले धेरै वर्ष देखि होली खेलेर आर्थिक स्रोत सङ्कलन गर्दै आएका छन् । यो विद्यालयले आफ्नै स्रोतमा छात्रावास पनि सञ्चालन गरेको छ ।
निजी स्रोतका शिक्षक, छात्रावास लगायत शैक्षिक सामग्री व्यवस्थापनका लागि हरेक वर्ष होली खेलेर रकम सङ्कलन गर्दै आइरहेको व्यवस्थापन समितिका अध्यक्ष भाटले बताए । पाटन नगरपालिका–१० को सरस्वती माध्यमिक विद्यालय सल्लेबासाले होली खेलेर दुई लाखभन्दा बढी रुपियाँ सङ्कलन गरेको छ । होलीबाट सङ्कलित रकमले विद्यालयमा शैक्षिक सामग्री किन्ने गरेको प्रधानाध्यापक लोकराज भट्टले बताए ।
बैतडीको सिद्धेश्वर माध्यमिक विद्यालय मेल्चौरा, जनता माध्यमिक विद्यालय आरुबाटा, सिगास माध्यामिक विद्यालय गुरुडा, केदार माध्यमिक विद्यालय कठमडा, जगन्नाथ बहुमुखी क्याम्पस गोठालापानी, पाटन बहुमुखी क्याम्पस पाटन लगायतका विभिन्न शैक्षिक संस्थान धुमधामसाथ होली खेलिएको पाटन नगरपालिका–८ का हरिदत्त भट्टले बताए । सुदूरपश्चिम र कर्णाली क्षेत्रमा फागुन शुक्ल अष्टमीदेखि पूर्णिमा सम्म सात दिन होली खेल्ने चलन छ ।

