कृष्णपुरमा स्थापना हुने बहुप्राविधिक शिक्षालयका लागि त्रिपक्षीय सम्झौता

अत्तरिया- कृष्णपुर नगरपालिका वडा न.७ को परिसरमा स्थापना हुने बहुप्राविधिक शिक्षालयका लागि त्रिपक्षीय सम्झौता भएको छ । बुधबार नगरप्रमुख हेमराज ओझा, कोइका र सिटिइभिटिका प्रतिनिधि बिच प्रारम्भिक सम्झौता भएको हो । 

लामो समयको छलफल पश्चात कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (KOICA), कृष्णपुर नगरपालिका र CTEVT बीच भएको यस सम्झौताले सुदूरपश्चिम प्रदेशमा एक बहुप्राविधिक शिक्षालय (Polytechnic Institute) स्थापनाका लागि सहकार्य सुनिश्चित गरेको छ । यो परियोजनाले प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ । 

यस परियोजनाले सुदूरपश्चिम प्रदेशमा प्राविधिक शिक्षाको गुणस्तर वृद्धिको लक्ष्य राखेको छ । डिप्लोमा तथा पूर्व-डिप्लोमा तहका कार्यक्रमहरू (अटोमोबाइल तथा इलेक्ट्रिकल इन्जिनियरिङ) साथै छोटो अवधिका व्यवसायिक तालिमहरू (टेलरिङ र ब्युटिसियन प्रशिक्षण) सञ्चालन गरिने छन् ।

यस सम्झौता मार्फत आधुनिक पूर्वाधार, दक्ष जनशक्ति र रोजगारमुखी शिक्षा प्रणालीको स्थापना गर्दै यस क्षेत्रको समग्र प्राविधिक शिक्षा र रोजगारीका अवसरहरू विस्तार गर्ने लक्ष्य राखिएको छ ।

Loading...