

अत्तरिया- कृष्णपुर नगरपालिकाले ‘नागरिकसँग मेयर’ कार्यक्रम अन्तर्गत नसर्ने रोग पहिचान तथा उपचार अभियान सुरु गरेको छ । २०७९/०८० मा पहिलो संस्करण, २०८०/०८१ मा दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेपछि यस वर्ष २०८१/०८२ को तेस्रो संस्करण आजबाट औपचारिक रूपमा उद्घाटन गरिएको हो ।


नगर प्रमुख हेमराज ओझा, उप–प्रमुख द्रोपती राना, स्वास्थ्य शाखा प्रमुख रतन विष्ट, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र प्रसाद भट्ट तथा अन्य जनप्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य शाखा प्रमुख विष्टका अनुसार यस अघि ५० हजार नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो, भने यो संस्करणमा ७५ हजार जनसङ्ख्या रहेको नगरपालिकाभित्रका सबै बासिन्दालाई समेट्ने लक्ष्य राखिएको छ ।




यस अभियानमा मधुमेह, उच्च रक्तचाप, मृगौला रोगजस्ता नसर्ने रोगहरूको पहिचान गरी समयमै उपचार प्रदान गरिनेछ । नागरिकहरूले रगतमा चिनीको मात्रा परीक्षण, रक्तचाप मापन, मृगौला रोग जाँच, शरीर तौल र उचाइका आधारमा बीएमआइ मापन गर्न सक्नेछन् । यसका साथै, आवश्यक परे घरदैलोमै पुगेर स्वास्थ्य परामर्श र उपचार सेवा प्रदान गरिनेछ ।
कार्यक्रम बोल्नु हुँदै नगर ओझाले जनताको स्वास्थ्य, शिक्षा, सरसफाइ र रोजगारी जस्ता प्रमुख समस्याहरूलाई समाधान गर्न नगरपालिका कटिबद्ध रहेको बताए । “नागरिकहरूको समस्या बुझ्न हामी गाउँ-गाउँ पुग्नेछौँ । स्वास्थ्य सेवामा सुधार ल्याएर सबैलाई सहज पहुँच दिलाउने हाम्रो प्रमुख लक्ष्य हो,” उनले भने । ओझाले नगरपालिका भित्रका असहाय, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई प्राथमिकताका साथ सेवा प्रदान गरिने जानकारी दिए ।
नगर उप–प्रमुख द्रोपती रानाले नगरपालिकाले महिलाहरू, सुत्केरी आमा तथा बालबालिकाको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिएको बताइन् । “स्वास्थ्य मात्रै होइन, महिला सशक्तीकरण, स्वरोजगार र बालबालिकाको शिक्षामा पनि नगरपालिका सक्रिय रूपमा काम गरिरहेको छ,” उनले भनिन् । रानाले गाउँ बस्तीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई थप सक्रिय बनाइने र घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने योजना अघि बढाइएको जानकारी दिइन् ।
नगर प्रमुख र उप–प्रमुखले नागरिकहरूलाई स्वास्थ्य अभियानमा सहभागी भई निःशुल्क परीक्षण तथा उपचारको लाभ लिन आग्रह गरेका छन् । नगरपालिका स्तरबाट यस किसिमको स्वास्थ्य अभियान सञ्चालन हुँदा स्थानीय बासिन्दाले समयमै स्वास्थ्य परीक्षण गराउन सक्ने भएकाले अभियान प्रभावकारी हुने विश्वास गरिएको छ । आयोजक कृष्णपुर नगरपालिका तथा नगर कार्यपालिकाको कार्यालयले जनताको स्वास्थ्य सुधारका लागि निरन्तर पहल गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

