

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित पर्यटकीय सम्भावना बोकेको ताल हो ‘आलिताल’ । वरिपरी डाँडाका बीचमा रहेको यो तालको दृश्य मनमोहक छ ।


एक हजार एक सय ७५ मिटर लम्बाइ र करिब ४ सय मिटर चौडाइ रहेको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ ।


सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पर्ने सबैभन्दा ठूलो यो ताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको यहाँका स्थानीय बताउँछन् । यहाँ दिनहुँ जसो ताल अवलोकनका लागि पर्यटकहरु आउने गरेका छन् । केहि पहिले सुनसान रहने तालमा अहिले दैनिक आन्तरिक तथा वाह्य पर्यटकहरु पुग्ने गरेका छन् ।


ताल अवलोकनका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट दिनहुँ ५०/६० जना पर्यटक आउने गरेको तालका हेरालु गगनसिंह पुनमगरले बताए ।
यस तालमा विभिन्न प्रजातिका चराहरु समेत पाइने गरेका छन् । हाल ताल क्षेत्रमा १ सय ५० बढी साइबेरिन आगन्तुक चरा रहेको पुनमगरले बताए । लामपुच्छ्रे, न्याउला, ढुकुर लगायत विभिन्न प्राजातिका चराहरु रहेको उनले बताए । तालमा रैथाने जलेवा, जलकुखुरा पनि पाइने गरेको उनले बताए ।
यो ताल क्षेत्रमा पिकनिक स्पर्ट पनि बनाइएको छ । पिकनिकका लागि पनि यहाँ धेरै जसो आन्तरिक पर्यटक आउने गरेको पुनमगरले बताए । उनले भने ‘यहाँ पकिनिक खानको लागि पनि मान्छेहरु आउने गर्छन् । पिकनिकका लागि भाडाकुँडाको व्यवस्था पनि गरिएको छ । ताल हेर्नका लागि पनि बाहिर जिल्लाबाट समेत मान्छेहरु आउने गरेका छन् ।’
आलिताल धार्मिक पर्यटकीय क्षेत्र समेत भएको स्थानीयको भनाइ छ । यस तालमा विवाह, ब्रतवन्ध लगायतका कार्यहरु गरिने गरेको स्थानीय बताउँछन् । पछिल्लो समय गाउँपालिकाले यस तालमा माछा पालन पनि गरेको छ । तालमा एक हजार ग्रास जातका र छ सय बढी रहु जातका माछा राखिएको तालका हेरालु पुनमगरले बताए । माछा हुर्किएर ठूलठूला भएको उनले बताए । अझै यसको प्रचारप्रसार गर्न सके पर्यटकको सङ्ख्या बढ्दै जाने स्थानीयको भनाइ छ । तालमा सरकारको लगानी अझै लाग्न सकेमा अझै घुम्न आउने पर्यटकहरु बढ्ने स्थानीयहरुको भनाई रहेको छ ।

