

भारतको ओडिसास्थित किट कलेजबाट निकालिएका ९६ नेपाली विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट स्वदेश फर्किएका छन् ।


पर्साका प्रहरी प्रमुख गौतम मिश्रका अनुसार वीरगन्ज नाका हुँदै सबै विद्यार्थीहरू घर फर्किसकेका छन्, जसमा करिब ८० प्रतिशत पर्साकै रहेका छन् ।




फर्किएकामध्ये केही विद्यार्थी बारा, रौतहट, मकवानपुर लगायतका अन्य जिल्लाका रहेका छन्, जो आफ्नै हिसाबले घरतर्फ लागेका छन् । वीरगन्जको शंकराचार्य गेटमा आएका विद्यार्थीहरूलाई स्थानीय साउथ जोन स्कुलले दुईवटा स्कुल बसको सहयोगमा सिमरा पुर्याएको छ ।
प्रकृति लम्सालको मृत्युपछि विद्यार्थी माथि दमन
नेपाल फर्किएका विद्यार्थीहरूले कलेज प्रशासनले उनीहरूलाई अन्यायपूर्ण रूपमा होस्टेलबाट निकालेको गुनासो गरेका छन् ।
उनीहरूको अनुसार नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको विरोधमा आवाज उठाउँदा कलेज प्रशासनले गुन्डा र सुरक्षागार्ड परिचालन गरेर विद्यार्थीहरूलाई कुटपिट गर्दै होस्टेलबाट निकालेको थियो । विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनको यस्तो व्यवहारप्रति नेपाल सरकार र सम्बन्धित निकायले चासो देखाउनु पर्ने माग राखेका छन् ।

