

काठमाडौं- भारतको उत्तर प्रदेशको आगमगढनजिकै आजमगढ–वाराणसी राजमार्गमा सोमबार कार दुर्घटना हुँदा त्यसमा सवार तीनजना नेपालीको मृत्यु भएको छ ।


कार डिभाइडरमा ठोक्किँदा एक महिला सहित तीन नेपाली नागरिकको मृत्यु भएको हो । दुर्घटनामा सात जना घाइते भएको प्रहरीले जनाएको छ । उक्त कार पछाडि रहेका अन्य दुई कार पनि ठोक्किएका थिए ।




प्रहरीका अनुसार उनीहरू सबै नेपालको रूपन्देही जिल्लाका बासिन्दा हुन् । उनीहरू तीन जना महाकुम्भमा स्थान गर्न कारमा यात्रा गरी महाकुम्भ प्रयागराज गएका थिए । उनीहरूको समूहमा ३५ जना थिए र ७ वटा कारमा उनीहरू प्रयागराज गएका थिए ।
महाकुम्भमा स्नान गरेर नेपाल फर्किंदै गर्दा उनीहरूको कार दुर्घटनामा परेको थियो । चालकले सन्तुलन गुमाउँदा कार डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।
शवहरू पोस्टमार्टमको लागि पठाइएको छ र उनीहरूका परिवारका सदस्यहरूलाई जानकारी गराइएको छ। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

