अत्तरिया- कञ्चनपुरकाे कृष्णपुर नगरपालिका वडा नं.२ वाणी स्थित जेबि एकेडेमीले आफ्नो १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस यही माघ २० गते भव्य रूपमा मनाउने तयारी गरेको छ । २०६६ सालमा स्थापना भएको यस विद्यालयले १५ वर्ष पूरा गरेको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहित विशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।
वार्षिकोत्सवकै अवसरमा विद्यालयले २०८१ सालको सम्पूर्ण विद्यार्थीको पठनपाठन शुल्क चुक्ता गरिसकेका अभिभावकहरू मध्ये गोलाप्रथाद्वारा छनोट गरी एकजना भाग्यशाली अभिभावकलाई रू १ लाख नगद उपहार प्रदान गर्ने घोषणा गरेको छ । संस्थापक तथा प्रिन्सिपल जगदीश सेटीका अनुसार यस योजनामा सहभागी हुन इच्छुक अभिभावकहरूले माघ १८ गतेभित्र आफ्नो सम्पूर्ण शुल्क चुक्ता गरिसक्नु पर्नेछ ।

कार्यक्रमको अर्को आकर्षण स्वरूप, कृष्णपुर नगरस्तरीय राष्ट्रपतिकप रनिङ शिल्डमा स्वर्णपदक विजेता खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिनेछ । त्यस्तै २०८० सालको कक्षा १० र १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई सम्मान गरिने एकेडेमीले जनाएको छ ।
विद्यालयका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, मेधावी विद्यार्थी र उत्कृष्ट स्टाफहरूलाई पनि सम्मान गरिनेछ । अभिभावकहरूको योगदानको कदरस्वरूप अभिनन्दन कार्यक्रम समेत राखिने जानकारी प्रिन्सिपल सेटीले दिएका छन् ।
वार्षिकोत्सवमा विद्यार्थीहरूद्वारा नृत्य, गीत, मन्तव्य, नाटकजस्ता कलात्मक प्रस्तुतिहरू प्रदर्शन गरिनेछ । कार्यक्रमलाई भव्य बनाउन विद्यालयले सम्पूर्ण वर्तमान र भूतपूर्व विद्यार्थी, अभिभावक, स्टाफ, र समितिका पदाधिकारीहरूलाई समेत निमन्त्रणा गरेको छ ।
विद्यालयका प्रिन्सिपल सेटीले कार्यक्रम भव्य र सफल बनाउन सबैको सहभागिता र सहयोगको अपेक्षा व्यक्त गर्दै अभिभावक, विद्यार्थी, र अन्य सरोकारवालाहरूलाई समयमै जानकारी गराउन आग्रह गरेका छन् ।