गोदावरीमा सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार सम्बन्धी कानुन निर्माण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी कानुन निर्माण गरेको छ । लामो समयसम्मको छलफल र बहसपछि तयार गरिएको ‘गोदावरी नगरपालिका सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार ऐन २०८१’ बिहीबार एक कार्यक्रमका बीच नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नगर उपप्रमुख शारदादेवी रोकाया र स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीलाई कानुनको मस्यौदा हस्तान्तरण गरियो। उपप्रमुख रोकायाले यो ऐनले विशेषगरी महिला र किशोरीहरूलाई राहत पुर्‍याउने विश्वास व्यक्त गरिन्। उनले ऐन निर्माणको क्रममा धेरै किशोरीहरूले प्रजनन् अधिकारबारे जानकार हुने अवसर पाएको बताइन् ।

Navadurga sun

कानुन निर्माणमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी), केयर नेपाल, सिआरआर,निड्स संस्थाको सहकार्य रहेको थियो। स्वास्थ्य शाखा प्रमुख अवस्थीले कानुन निर्माणमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिंदै नागरिकलाई सेवा दिन सजिलो हुने विश्वास व्यक्त गरे। उनले ग्रामीण क्षेत्रमा पनि यस ऐनले प्रजनन् स्वास्थ्यबारे जनचेतना फैलाएको बताए ।

अधिवक्ता सविन श्रेष्ठले नेपालको संविधानमा प्रजनन् अधिकारको व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन नदेखिएको टिप्पणी गरे । उनले गोदावरी नगरपालिका सुदूरपश्चिममा यौन तथा प्रजनन् अधिकार सम्बन्धी कानुन निर्माण गर्ने पहिलो पालिका भएको उल्लेख गर्दै अन्य पालिकाहरूले यसलाई अनुकरण गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन केयर नेपालका कालिदास जोशीले गरेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, र पत्रकारहरूको उपस्थिति थियो । नयाँ कानुनले पालिकाका कर्मचारीलाई काम गर्न सजिलो बनाउनुका साथै स्थानीय नागरिकका लागि सेवा प्रवाहमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...