धनगढी- कैलालीमा खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार चोकबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय शंकर राना ४ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् । रानालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका–१४ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा कपडा पसल सञ्चालन गरी बस्ने ३० वर्षीय अवतार हुसेन पक्राउ परेका छन् ।
हुसेनले चलाएको से ७ प १५५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ६७० मिलिग्राम लागूऔषध खैरो हेरोइन, मोटरसाईकल र उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी धनगढी उपमहानगरपालिका–७ मनेहराबाट सोही ठाउँ बस्ने ३५ वर्षीय राज कुमार रानाको साथबाट ९० मिलिग्राम र धनगढी उपमहानगरपालिका–८ बस्ने ४२ वर्षीय भक्त रानाको साथबाट २ ग्राम २३० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ परेका छन् । यी दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट सोही ठाउँ बस्ने २४ वर्षीय सन्तोष राना पक्राउ परेका छन् । रानालाई १२० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । बिहीवार पक्राउ परेका यी पाँचै जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।