कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा भोलिबाट फुटबल प्रतियोगिता हुने भएको छ । पुनर्वास नगरपालिका– ५ मा रहेको न्यू भानु युवा क्लबको आयोजनामा जिल्लाकै सबैभन्दा ठूलो धनराशिको फुटबल प्रतियोगिता हुने भएको हो ।
“प्रथम भानु गोल्डकप २०८१” भोलिदेखि सुरु हुने क्लबले बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै बताएको छ । प्रतियोगिता भानु खेलमैदानमा हुनेछ । प्रतियोगितामा जिल्ला भित्र र कैलालीका १२ टिमहरूले प्रतिस्पर्धा गर्नेछन् । क्लबका सचिव जय सिंह ठकुरीले फुटबल खेल मार्फत उत्कृष्ट प्रतिभाको विकास र खेलकुदप्रति नयाँ पुस्ताको आकर्षण सहित लागूऔषध न्यूनिकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार पाँच लाखसहित मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार २ लाख ५० हजार सहित मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलरक्षकका लागि १० हजार नगद, उत्कृष्ट डिफेन्सका लागि १० हजार, प्रत्येक खेलमा म्यान अफ द म्याचका लागि एक हजार पाँच सय, सर्वाधिक गोलकर्ताका लागि १० हजार र खेलभरी कै उत्कृष्ट खेलाडीका लागि १५ हजार पुरस्कारको व्यवस्था गरिएको सचिव ठकुरीले बताए । न्यू भानु युवा क्लबका अध्यक्ष पदम थापाले पुनर्वासलाई खेलकुदको क्षेत्रमा नयाँ उचाइमा गुर्याउने विश्वास लिएको बताए ।