काठमाडौं । टीकापुर महोत्सव २०८१ को तयारी तीव्र पारिएको छ । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा यही पुस २५ गतेबाट सुरु हुने महोत्सवको तयारीअन्तर्गत पण्डाल निर्माण अन्तिम चरणमा पुगेको छ । ‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव हुन लागेको हो ।
वाणिज्य संघका महासचिव नवराज रिमालले भने, ‘‘महोत्सवमा सर्वसाधारणका लागि रु एक सय टिकट शुल्क लाग्नेछ विद्यार्थीका लागि ५० प्रतिशत छुट दिइने छ भने महोत्सव अवलोकनमा एकल महिला, ज्येष्ठ नागरिक तथा अपांगता भएकाले निःशुल्क प्रवेश पाउनेछन् ।’’ महोत्सवमा थारु कला र संस्कृति झल्कने सङ्ग्रहालय राखिने जनाइएको छ ।
यसवर्ष महोत्सवस्थलको क्षेत्रफल बढाइएको छ । अघिल्लावर्षको तुलनामा स्टल र प्रवेशद्वारको स्थान परिवर्तन गरिएको छ । विगतमाझैँ कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी राखिने भएको छ । महोत्सवभित्र जम्मा दुई सय स्टल रहने छन् । पण्डालभित्र एक सय २७ व्यापारिक स्टल रहने आयोजकले जनाएको छ । पण्डालबाहिर २६ वटा होटल रहने छन् । थारु गाउँमा २४, अटोमोबाइलमा १४, मोटरसाइकल र कृषि उद्यमी गरी नौ स्टल रहने जनाइएको छ ।
वाणिज्य संघले महिला उद्यमीलगायतलाई पाँच वटा स्टल निःशुल्क उपलब्ध गराएको छ । हालसम्म ९० प्रतिशत स्टल बुक भइसकेको वाणिज्य संघका सदस्य तथा स्टल संयोजक बमबहादुर ओलीले बताए । वाणिज्य संघको आयोजनामा विसं २०६५ देखि टीकापुर महोत्सव आयोजना हुँदै आएको छ ।