अक्षयकोष स्थापना गर्न दृष्टि फाउन्डेसनले महायज्ञ गर्ने

धनगढी- अक्षयकोष स्थापना गर्न दृष्टि फाउन्डेसन धनगढीले माघमा महायज्ञ गर्ने भएको छ । धनगढी–१३ मा रहेको फाउन्डेसनले माघ २ गते देखि ९ गते सम्म सप्ताह ज्ञान महायज्ञ लगाउने भएको हो ।

बुधवार फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टको अध्यक्षतामा बसेको भेलाले बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीको संयोजकत्वमा महायज्ञ आयोजक उपसमिति गठन गरिएको छ ।

भेलामा महाकाव्यकार मनिराज जोशी, कथावाचक सत्यराज अवस्थी, व्यवसायी अनिल कुमार भुजनिया, कैलाली क्याम्पसका सहायक क्याम्पस प्रमुख लोक बहादुर बिष्टको उपस्थितमा महायज्ञ आयोजक उपसमिति गठन गरिएको छ ।

भेलामा वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाही, ६ नम्बरका वडाअध्यक्ष भागीराम चौधरी वडा नम्बर ११ का वडाअध्यक्ष रुपसिंह कुँवर, निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तको समेत सहभागिता रहेको थियो । असहाय महिला र बालबालिकाको उद्धार गरेर आश्रय दिँदै आएको दृष्टि फाउन्डेसनका लागि ५० लाखको अक्षयकोष स्थापना गर्न महायज्ञ आयोजना गरिन लागेको संयोजक जोशीले बताए ।

फाउन्डेसनले सञ्चालन गरेको आश्रममा आश्रय लिइरहेका महिला र बालबालिकाको पालनपोषण र उपचारमा सहयोग पुगोस् भनेर महायज्ञ आयोजना गर्न लागिएको बताइएको छ ।

महायज्ञमा अयोध्याबाट ८ वर्षीया कथा वाचिका अनुराधा पाण्डेले कथा वाचन गर्ने आयोजकले जनाएको छ । महायज्ञमा सरिक भइदिन दृष्टि फाउन्डेसनकी अध्यक्ष भट्टले सम्पूर्णमा अनुरोध गरेकी छन् ।

Loading...