रविविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै, भोलिदेखि बयान

काठमाडौं । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ । भोलिदेखि बयान र बयान सकिएपछि थुनछेक बहस सुरु गर्ने तयारी छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनको आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो ।

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

आज पूर्वगृहमन्त्री समेत रहेका लामिछाने विरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ती शुद्धीकरणमा मुद्दा दर्ता हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।

सो प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएपछि सूर्यदर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआईजीसमेत रहेका छविलाल जोशीलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो भने कात्तिक २ गते रविलाई पक्राउ गरेर रातारात पोखरा लगिएको थियो । यसबीचमा उनीहरुलाई रुपन्देहीको बुटवल, चितवन, काठमाडौं र वीरगञ्जमा लगेर पनि बयान गराइएको थियो ।

Loading...