

धनगढी- कैलालीको धनगढीमा शनिबारदेखि सुदूरपश्चिम महोत्सव सुरु भएको छ । महोत्सवको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन् । सो अवसरमा आयोजक कैलाली उद्योग वाणिज्य संघले उद्योगमन्त्री भण्डारीलाई १० बुँदे मागपत्र समेत बुझाएको हो ।


पश्चिम सेती जलविद्युत आयोजना र सुक्खा बन्दगाह निर्माण, सेती प्रादेशिक अस्पताल र त्रिनगर–गौरीफन्टा नाकाको स्तरोन्नति लगायतका माग बुझाइएको महासचिव ओम बिष्टले बताएका छन् ।


२०६३ सालमा २१ बुँदे मागपत्र बुझाएर महोत्सवको सुरुवात गरिएको थियो । अझै १० माग पूरा नभएकाले यस पटक १० बुँदे माग पत्र बुझाइएको उनले बताएका हुन् ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको सम्भावनाहरुको खोजी गर्न र यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपान, भेषभुसाको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताएका छन् ।
पुस २ गते सम्म सञ्चालन हुने महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सव अवलोकनका लागि १ सय रुपैयाँ टिकट निर्धारण गरिएको छ ।
विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सवमा कृषि उत्पादन, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटल लगायत ५ सय ३१ वटा स्टल राखिएको आयोजकले जनाएको छ ।





