बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाकाे छेला-दुर्गाभवानी कच्ची सडककाे डुवापानी भन्ने स्थानमा से१ ज ३२० नम्बरको बाेलेराे जिप गएराति साढे १० बजेतिर दुर्घटनामा परेकाे हाे ।


दुर्घटनामा परेर चालकसहित छ जना घाइते बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे । घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका ३ का ४५ वर्षीय दिलिप नाथ, साेहि ठाउँका ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६ वर्षीय केशव नाथ,१६ वर्षीय सुशील नाथ र जीप चालक दशरथ नाथ रहेका छन् ।



घाइते मध्ये दिलिपकाे अवस्था गम्भीर रहेकाे छ। दिलिपलाई जिल्ला अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि धनगढी रेफर गरिएको छ । अन्य घाइतेहरूकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे र अवस्था सामान्य रहेकाे छ ।
जिप सडकबाट १० मिटर तल खसेर सल्लाकाे रूखमा अड्किएकाे छ । दुर्घटनाग्रस्त जिप रूखमा अड्किदा ठुलाे दुर्घटनाबाट बचेकाे प्रहरी निरीक्षक ढुंगानाले बताउनु भयाे ।
आठजना सवार रहेकाे जिप अनियन्त्रित भएर दुर्घटनामा परेकाे बताइएकाे छ। सवार दुईजना भने सकुसल रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।