अत्तरिया- सुदूरपश्चिममा भोलि (बुधबार) देखि शनिबार सम्म भारी वर्षाको संभावना भएकाले सतर्क रहन सबैमा अपिल गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक विज्ञप्ति नै जारी गरेर यस्तो अपिल गरेको हो ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट प्रभाव हुने जलवायु युक्त हावाको प्रभावका कारण बुधबार देखि शनिबार सम्म सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा सामान्य देखि धेरै वर्षा हुने पूर्वानुमान भएको जानकारी प्राप्त भएको भन्दै मन्त्रालयले सचेत रहने देशवासीलाई आग्रह गरेको छ ।

कृषि क्षेत्रमा बढी प्रभाव पर्ने भएकाले धानबाली नकाट्ने आग्रह गरिएको छ । पहाडी भु–भागमा भु–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने तथा नदीनाला खहरे खोलाहरूमा पानीको जलप्रवाहले पानीको सतह बढ्ने सक्ने, बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिएमा सम्बन्धित जिल्ला र स्थानीय विपद व्यवस्थापन समिति, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटी तुरुन्त खबर गर्न मन्त्रालयले आग्रह गरेको छ ।
वस्ती नजिक बाढी, पहिरो, डुबान, जोखिमको आंकलन गरी सुरक्षाकर्मी तथा स्थानीय तहसँगको समन्वयमा सुरक्षित स्थानमा घरपरिवार सरसामान सार्ने व्यवस्था गरिनु पर्ने, बाढीका बारेका जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ मा फोन गर्न लगायतका जानकारी गराउँदै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति नै जारी गरेर सबैमा सचेत रहन आग्रह गरेको छ ।

