

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. १० को खमौरा शिविरको ग्वासी घटेश्वर सामुदायिक वनमा निर्माणमा अधुरो रहेको खाल्डो पारिएको भागमा एकीकृत माछा पोखरी निर्माणको कार्य सम्पन्न भएको छ ।


गोदावरी नगरपालिकाको कृषि तथा पशु विकास शाखा र साझेदारी संस्थाको संयुक्त लगानीमा निर्माण भएको एकीकृत माछापालन पोखरीको गोदावरी नगरपालिका र साझेदारी संस्था सँगै स्थानीय तथा सरोकारवालाहरु द्वारा स्थलगत अनुगमन भएको छ । केही महिना अघि देखि निर्माण थालेको उक्त एकीकृत माछापालनमा माछा हाँस तथा चारै तिर केरा खेती काँडेतार लगाए पश्चात आज औपचारिक रुपमा अनुगमन भएको छ ।


गोदावरी नगरपालिका सँगै साझेदारी संस्था USAID–तयार नेपाल तथा निर्माण चरणमा रूपान्तरण नेपालद्वारा यस क्षेत्रमा रहेका दलित, विपन्न, जनजाति आयस्रोत कम भएका ६३ जनालाई (५३ महिला,१० पुरुष) यस क्षेत्रमा माछा, हाँस पालन पोखरीमा जिम्मेवारी दिने गरी काम अगाडि बढाएको जानकारी रूपान्तरण नेपालका फिल्ड संयोजक बम बहादुर ओलीले बताएका छन ।

ठुलो क्षेत्र ओगटेको पोखरी मध्ये पहिलो चरणमा USAID–तयार नेपालले ६५ मिटर लामो र ४६ मिटर चौडा हुने गरी २ ओटा पानी पोखरी खाल्डो निर्माण गरी माछा र हाँस पाल्न थालेको छ भने यस क्षेत्रमा पानीको ब्यावस्थापनका लागि पोखरी नजिकै बोरिङको ब्यावस्थापन गर्दै गरेको जानकारी रूपान्तरण नेपालका फिल्ड संयोजक बम बहादुर ओलीले बताएका हुन् ।
यस पोखरीको चारै तिरको भागमा काँडेतार, बृक्षारोपण सँगै एकीकृत माछा, हाँस पालन कार्यक्रम, केरा खेती, तरकारी खेती, घाँस खेती, लगायतका योजना अगाडि बढिसकेको बताएका छन ।
अनुगमन कार्यक्रम सहभागी भएका गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भने ‘प्रयोगमा न आएको पोखरीको मर्मत सम्भार कार्यक्रम पश्चात यस पोखरीले मुहार फेरी सँगै यस ठाउँमा रहेको दलित, जनजाती, सुकुम्वासी, पिछडीएका बर्गको पनि आर्थिक, सामाजिक रुपमा संबृद्धी हुनेमा आफूहरु बिश्वस्त रहेको बताएका छन ।’
साथै यस एकीकृत पोखरीको सहयोगबाट यस ठाउँका स्थानियहरुको जीवनस्तर उकास्न सहयोग पुग्ने बताएका छन । यस पोखरीबाट उत्पादित माछा, हाँस,केराको बजारीकरणमा तपाईहरुको साथमा नगरपालिका रहेको समेत बताएका छन ।





