डडेल्धुरा- डडेल्धुरामा जीप दुर्घटनामा परेका मध्ये एक जनाको मृत्यु भएको छ । सदरमुकामबाट गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ गइरहेको सुदूरपश्चिम प्रदेश ०४००१ च ०१३४ नम्बरको जीप अमरगढी नगरपालिका–५ पीपल चौतारा नजिकै नालीमा खसेर आज दुर्घटना भएको थियो ।



दुर्घटनामा गन्यापधुरा–३ का ४५ वर्षीय कृष्णबहादुर भूलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याउँदा भूललाई चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा छ जना घाइते भएको प्रहरी निरीक्षक वीरबहादुर थापाले बताए ।
अर्की घाइते रहेकी गन्यापधुरा–३ की ६४ वर्षीया ईश्वरीदेवी विष्टलाई थप उपचारका लागि धनगढी पठाइएको थापाले बताए। बाँकी सामान्य घाइते भएका छन् । जीपमा चालकसहित आठ जना सवार थिए। चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।