कैलालीको गेटा अस्पतालमा बिरामीको चाप बढ्दै

अत्तरिया- कैलाली श्रीपुरका ४८ वर्षीय खड्का थरका (नाम नबताउने) एक जना पुरुष आफ्नी आमालाई लिएर असार अन्तिम साता गेटा अस्पतालमा पुगे । ज्वरो आउने र पेट दुख्ने समस्या देखिएपछि ७३ वर्षीया आमालाई आवश्यक जाँचका लागि लिएर उनी गेटा अस्पताल पुगेका हुन् ।

अस्पतालको ओपीडीमा भेटिएका आमा–छोराले ल्याब परीक्षणका लागि चिकित्सकले दिएको पुर्जा देखाउँदै ल्याब कता हो ? भनेर सोधिरहेका थिए । खड्काले भने, अस्पतालमा सेवा सुरु भएको थाहा पाएपछि आमालाई लिएर आएको हुँ । डाक्टरलाई भेटेर आइसकेको छु । डाक्टरले राम्रोसँग समय दिएर जाँच गर्नुभयो । अब ल्याबमा जाँचेर रिपोर्ट ल्याउन भन्नु भएको छ ।

Navadurga sun
Godawari sandesh

उनले घर नजिकै ठूलो अस्पताल बनेको र सेवा सुरु भएकोमा खुसी व्यक्त गर्दै सेवाहरु थप गर्नुपर्ने सुझाव दिए । असार अन्तिम साता अस्पतालमा पुग्दा ओपीडीमा सेवा लिन आउने बिरामीको संख्या २७ जना पुगेको थियो । वर्षात्‌को समय भए पनि अस्पतालमा सेवा लिन आउनेको संख्यामा कमी नभएको भन्दै अस्पताल निर्देशक डा विप्लव सापकोटा खुसी देखिन्थे ।

निर्देशक डा सापकोटाले भने, वर्षातको समयमा पनि अस्पतालमा सेवा लिन आउने बिरामीको संख्यामा कमी भएको छैन । अस्पतालको सेवा थपिँदै गएसँगै बिरामीको चाप पनि बढ्दै गइरहेको छ । उनले अस्पतालमा रहेका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी र कर्मचारीहरुको मिहेनतका कारण नै ओपीडीमा सेवा लिन आउनेको संख्या बढ्दै गइरहेको जानकारी दिए ।

अस्पतालमा हाल ओपीडी सेवासँगै प्रयोगशाला सेवाहरु सञ्चालनमा छ । अबको केही समयभित्र नै अस्पतालमा फिजियोथेरापी, शल्यक्रिया, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी, ल्याप्रोस्कोपी सर्जरी लगायतका सेवाहरु सञ्चालनमा आउने अस्पातालका बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतले जानकारी दिए ।

Dadeldhura hospital

उनका अनुसार अस्पतालमा हाल दैनिक ३० देखि ४० जना बिरामी सेवा लिन आइरहेका छन् । विभिन्न सेवा सुविधाहरु थप गर्दै अगाडि बढीरहेकाले छिट्टै उक्त संख्या बढ्दै दोब्बर भन्दा माथि पुग्ने अनुमान गरेका छौं, उनले भने, चिकित्सकहरुको उपलब्धतासँगै उपकरण लगायत अन्य सेवा सुविधाहरु थपिँदै गएको छ । मानिसहरुलाई पनि सेवा थपिँदै गयो भन्ने जानकारी बढ्दै गएकाले संख्या बढ्ने अनुमान गरेका छौं ।

अस्पतालमा आउने बिरामीहरुको संख्यालाई हेर्दा अस्पतालमा अस्पताल आसपासका क्षेत्रसहित कैलाली र सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट धेरै मात्रामा बिरामी आउने गरेका छन् । अस्पतालको अल्ट्रासाउन्ड सेवा लिइरहेको एक महिलाले भनिन्, यहाँ नयाँ मेसिन छ भन्ने सुनेर सेवा लिन आएको हुँ । पाठेघर हेर्ने नयाँ मेसिनले हेरेर थप उपचार गर्न सुझाव दिनुभएको छ ।

अस्पतालमा सेवाले गति लिइरहेको जानकारी दिँदै निर्देशक डा सापकोटा भन्छन्, गेटा अस्पताल कहिले चल्छ ? भनेर लामो समय प्रश्न उठिरहेको थियो । हामीले सेवा सुरु गरेर अगाडि बढेसँगै उक्त प्रश्नको अन्त्य भएको छ । अब क्रमश सेवा थप गर्दै जाने छौं । छिट्टै अन्तरंग सेवा पनि सुरु गर्ने तर्फ योजना बनाएर अगाडि बढेका छौं ।

अस्पातालमा सेवाको गति बढाउन अस्पतालले तत्कालै आवश्यक पर्ने उपकरण लगायतका सामग्रीहरु खरिद गरेर सञ्चालनमा ल्याउन जनशक्ति समेत थप गर्दै अगाडि बढिरहेको छ । अस्पतालमा हाल २२ जना स्थायी कर्मचारी छन् । यसका साथै छात्रवृत्ति करारका ९ जना, दैनिक ज्यालादारीका ६ जना र केही समय अगाडि २६ जना जनशक्ति करारमा नियुक्त गरेको छ । अस्पातालमा गत आर्थिक वर्षमा खरिद भएका उपकरण लगायतका सामग्रीहरु धमाधम जडान भइरहेको छ ।

गेटामा सेवाले गति लिएको गत फागुन २७ गतेपछि हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिले अस्पतालसँग सम्बन्धित भवनहरु गेटा अस्पताललाई हस्तान्तरण गरेसँगै सेवाले गति लिएको हो । गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिका सदस्य सचिव वैकुण्ठ सुवेदीले गत फागुन २७ गते अस्पतालका निर्देशक डा विप्लव सापकोटालाई भवन हस्तान्तरण गरेका थिए ।

गेटामा गत कात्तिक १ गतेदेखि सेवा सञ्चालनमा आएको भए पनि भवनको विषय नटुंगिदा सेवाले गति लिन सकेको थिएन। अस्पताल सञ्चालनका लागि लामो समयदेखि भवन हस्तान्तरण नहुँदा गेटामा सेवा सुरु हुन समस्या भइरहेको थियो। भवन प्राप्त गरेसँगै अस्पतालका लागि आवश्यक संरचना निर्माण प्रक्रिया अगाडि बढाउँदै सेवा विस्तारको काम सुरु भएको डा सापकोटाले जानकारी दिए । स्वास्थ्य खबरबाट साभार ।

Loading...