टीकापुर- गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी बृद्धि भएका छन् । यस वर्ष १ हजार १ जना डेङ्गी सङ्क्रमित भएका छन् ।
गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलले दिएको जानकारी अनुसार गत वर्ष धनगढीमा १ सय ७३, लम्कीचुहामा १ सय १३, बर्दगोरियामा ७२, टीकापुरमा ४० ,जानकीका ४, भजनीका ५ र जोशीपुरमा ६ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो ।
वि.सं. २०८० मा डेङ्गीबाट कैलालीमा ३ जनाको मृत्यु भएको थियो । कैलाली डेङ्गीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ । डेङ्गीसँगै कैलाली स्क्रफ टाइफसको पनि जोखिममा छ । यस वर्ष जिल्लामा स्क्रफटाइफस ७ सय ३७ जनामा देखिएको छ । गत वर्ष ५ सय २९ जना बिरामी उपचारमा आएका थिए । टीकापुरमा स्क्रफटाइफसका गत वर्ष ७३, लम्कीचुहामा ३ सय १ जना बिरामी थिए ।
स्थानीय पालिकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टका लार्भा नष्ट अभियान, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार जस्ता कार्य गर्दै आएका छन् । टीकापुर अस्पतालका जनरल मेडिसिन दिलीप कुमार शाहले रोग लाग्नबाट बच्नु नै उत्तम उपाय भएको बताउँदै डेङ्गी मानिसलाई पटक पटक भएमा जोखिम हुने बताए ।
डा. शाहले डेङ्गी तीन अवस्थाको हुने जनाउँदै ज्वरो अवस्था खासै जोखिम नहुने, संवेदनशील अवस्थामा खतरा हुने भएकाले समयमै उपचारमा जानुपर्ने बताए ।
टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रेम कुमार राइले अस्पतालमा २४ जना चिकित्सक रहेका, विपद्मा आवश्यक औषधि, उपचार र सक्रियताबारे छलफल गरेर योजना निर्माण गरिएको बताए । उनले वर्षातमा डेङ्गी, टाइफस जस्ता बिरामी बढी आउने भएकाले यस्तो बेला सचेतना, पूर्वतयारी सबैतिर आवश्यक हुने बताए ।