काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । जसका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर साधारण देखि पूर्णतया बदली छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागले दिउँसो देशभर साधारण देखि पूर्णतया बदली रहने बताएको छ । सबै प्रदेशका धेरै स्थानका मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
विभागका अनुसार राति देशभर साधारणतया देखि पूर्णतया बदली रहनेछ । कोसी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।