धनगढी- कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई नगरपालिकामा आवेदन दिन सार्वजनिक सूचना जारी गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले आइतवार सूचना जारी गर्दै संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई निवेदन दिन आग्रह गरेको हो । शैक्षिक सत्र २०८१/०८२ का लागि धनगढी भित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्न चाहने विद्यार्थीले असार ३० गते दिउँसो ३ बजे सम्म शिक्षा, युवा तथा खेलकुद महाशाखामा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
छात्रवृत्ति छनोटका लागि साउन ५ गते बिहान ११ देखि १२ः३० सम्म परीक्षा हुनेछ । छात्रवृत्तिका लागि खुला समूहका लागि ५५ प्रतिशत र समावेशीतर्फ ४५ प्रतिशत कोटा निर्धारण गरिएको सूचनामा उल्लेख छ ।
समावेशी कोटातर्फ ४५ प्रतिशतलाई शतप्रतिशत मानी छात्राका लागि ३३ प्रतिशत, दलित १४ प्रतिशत, रानाथारू १३ प्रतिशत, खस आर्य ११ प्रतिशत, आदिवासी जनजाति १० प्रतिशत, पिछडिएको क्षेत्र १० प्रतिशत र अपाङ्गता भएको व्यक्तिका लागि ४ प्रतिशत कोटा छुट्याइएको छ ।