कैलालीको  सत्ती भन्सारद्वारा ९ करोड ८० लाख राजस्व सङ्कलन

कैलाली- कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ९ करोड ८० लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । सत्ती भन्सार कार्यालयले चालु आवमा १२ करोड १ लाख ४७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजस्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताए । गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा ७ करोड ५० लाख ४० हजार मात्र राजस्व सङ्कलन भएको प्रमुख सापकोटाले बताए ।

“यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौैँ”, उनले भने । सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्क वाफत ६४ हजार, बेरुजुबाट १ लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार, अन्तः शुल्क आयातमा २३ लाख ११ हजार, भन्सार महसुल आयातमा ५ करोड १ लाख, कृषि सुधार शुल्कमा १ लाख ८ हजार, भन्सार सम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार, मूल्य अभिवृद्धि कर आयातमा ४ करोड ४६ लाख ९७ हजार तथा हरित करबाट ४ हजार राजस्व सङ्कलन भएको प्रमुख सापकोटाले बताए ।

सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य छ । यस बाहेक जिल्लामा धनगढी स्थित त्रिनगर भन्सार कार्यालय छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ । खुला सीमाका कारण राजस्व सङ्कलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।

Loading...