कैलालीको धनगढीमा रगत अभाव

धनगढी- प्रदेशको अस्थायी राजधानी धनगढीमा रगतको अभाव बढेको छ । तुलनात्मक रुपमा सुविधा सम्पन्न अस्पताल रहेकाले सुदूरपश्चिमका पहाडी जिल्लाबाट समेत उपचारका लागि बिरामीहरू आउने धनगढीमा चर्को गर्मी र खेतीपातीको सिजनमा रक्तदाता घटेपछि रगतको अभाव भएको हो । बिरामीका लागि रगत खोज्न आफन्तले हैरानी ब्यहोर्नु परिरहेको छ ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र धनगढीमा रगतको मौज्दात घट्दो छ। बिरामीका लागि आवश्यक परेका बेला तत्कालै रगत पाउने अवस्था छैन । गर्मीयाम सुरु भएसँगै रगत आपूर्तिमा समस्या देखिएको प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

‘गर्मीको सिजनमा रगत दिने मान्छे घटे । रक्तदान कार्यक्रमहरू पनि कम हुन थालेका छन्’ पन्तले भने, ‘ग्रामीण क्षेत्रका बासिन्दा खेतीपातीमा व्यस्त भएकाले पनि रगतको अभाव देखिएको हो ।’ हरेक वर्ष गर्मीयाममा रगत अभावको समस्या देखिने गरेको उनले बताए ।

Dadeldhura hospital

रगत आपूर्तिको सबै भन्दा भरपर्दो स्रोत स्वयमसेवी रक्तदाता भएको, तर गर्मी सिजनमा रक्तदाताको संख्या घटेको रक्त सञ्चार केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हिजोआज ‘ए पोजेटीभ’ समूहको रगतको अभाव तुलनात्मक रुपमा बढी रहेको छ । ‘कतिपय समूहको रगत बिरामीका आफन्तले चाहेको बेला पाउने अवस्था छैन, हामीले रक्तदाता खोजेर भए पनि दिने प्रयास गर्छौँ’ रक्त सञ्चार केन्द्रका प्रमुख पन्तले भने, ‘त्यस्तो अवस्थामा रगत पाउन केही समय ढिलो हुन्छ ।’

समयमै रगत नपाउँदा कतिपय शल्यक्रिया समेत प्रभावित भइरहेका बताइएको छ । रक्त सञ्चार केन्द्रबाट दैनिक ५० देखि ६० युनिट रगत खपत हुँदै आएको छ । रक्तदाता भने दैनिक न्यूनतम १० देखि अधिकतम २५ जना पुग्ने गरेका केन्द्रले जनाएको छ । केही रगत रक्तदान कार्यक्रमहरू मार्फत संकलन हुन्छ ।

नेपाल रेडक्रस सोसाइटी कैलालीले रगत अभावको समस्या बढ्दै गएकाले रक्त सञ्चार केन्द्रमा आएर रक्तदान गर्न वा रक्तदान कार्यक्रमहरू सञ्चालन गरी सहज आपूर्तिमा सहयोग गर्न सार्वजनिक अपिल गरेको छ । रेडक्रस कैलालीका सभापति बाशुदेव बिनाडीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै रगत आपूर्तिमा अहिले कठीनाइ भइरहेकाले रक्तदान गरेर जीवन दान दिन आग्रह गरेका छन् ।

बिरामीको संख्या बढ्दै जाँदा रगतको माग पनि दैनिक बढ्दै गएको तर रक्तदान कम हुँदा आपूर्तिमा समस्या भइरहेको रेडक्रसले जनाएको छ ।सुदूरपश्चिमका अन्य ठाउँको तुलनामा सुविधा सम्पन्न अस्पतालहरू रहेको धनगढीमा सुदूरपश्चिमका अन्य आठवटै जिल्लाबाट उपचारका लागि बिरामीहरू आउने गरेका छन् । बिरामीको चाप बढी हुने भएकाले रगतको खपत पनि यहाँ बढी हुने गर्छ ।

Loading...