अत्तरिया- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रले मनोरञ्जनसँगै सन्देश समेत दिने बताएकी छन् । चलचित्र विकास बोर्डले धनगढीमा आयोजना गरेको ‘राष्ट्रिय बाल चलचित्र महोत्सव–२०८१’ को शुक्रबार उद्घाटन कार्यक्रममा उनले चलचित्रले समाजमा सकारात्मक सन्देश समेत फैलाउने बताइन् ।
मन्त्री शर्माले भनिन् ‘हामीले हिजोका दिनमा लडेर भिडेर परिवर्तन त ल्यायौ । अझै पनि समाजमा छाउपडी प्रथा, लैङ्गिक, जातीय विभेद अन्त्य हुन सकेको छैन् । यसका लागि समाजमा सकारात्मक सन्देश दिन आवश्यक छ ।’ ‘समाजमा व्याप्त यी कुसंस्कारलाई अन्त्य गर्नका लागि के गर्न सकिन्छ यसमा चलचित्र बोर्डले पनि ध्यान दिन म आग्रह गर्न चाहान्छु’, उनले भनिन्, विकृति, विसंगतिका विरुद्ध केही न केही काम अगाडि बढाऔँ जसले गर्दा समाजलाई लैङ्गिक, जातीय विभेदमुक्त समाज निर्माण गर्न सहयोग पुगोस् ।’

त्यस्तै समाजमा लुकेर रहेका बालबालिकाको प्रतिभाको प्रष्फुटन गर्न बाल चलचित्र महोत्सवको आयोजना गरिएको बताउँदै उनले भोलिका दिनमा चलचित्र क्षेत्रमा लाग्ने बालबालिकालाई कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले भनिन् ‘बालबालिका क्षमता हुन्छ तर अवसर पाइरहेका हुँदैनन् । क्षमता र प्रतिभालाई राज्यको मूलप्रवाहमा जोड्न ध्यान दिन आवश्यक छ ।
त्यस्तै उनले सुदूरपश्चिम प्रदेशका कला, संस्कृति प्रशंसनीय रहेको उल्लेख गर्दै यस क्षेत्रका कला, संस्कृतिले अत्यन्त महत्वपूर्ण सम्भावना बोकेको बताइन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मौलिकता झल्किने गीत तथा नृत्य प्रस्तुत गरिएका थिए । महोत्सव यही असार ९ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
