धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज (शुक्रबार) धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। नगरप्रमुख हमालले ‘हाम्रो धनगढी सफा धनगढी’का लागि दिगो सरसफाई, वातावरण तथा जैविक विविधताको संरक्षण गर्दै विपद व्यवस्थापन र जलवायु परिवर्तनका असरहरु न्युनिकरण र सामाजिक न्यायसहितको सुशासन स्थापित गरेर सम्वृद्धि हासिल गर्दै ‘बसोबास योग्य हरित सहर सम्वृद्ध कल्याणकारी उपमहानगर’को योजना अघि सारेका छन्।
नगरभित्रका विकास कार्यक्रमहरु प्राथमिकताका साथ सञ्चालन गर्न यो योजना अघि सारिएको हो। ‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रमलाई पनि अघि सारिएको छ। उपमहानगरपालिकाले ‘हर घडी नगर प्रहरी’ भन्दै नगरवासीको सेवामा सधै नगर प्रहरी सक्रिय रहने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
त्यस्तै संघ तथा प्रदेश सरकार गैरसरकारी निकाय तथा निजी क्षेत्रहरुसँगको समन्वय र सहकार्यमा रोजगारीका अवसरहरुको सिर्जना एवं विस्तार गर्न रोजगारदाता, सिपयुक्त जनशक्ति, सिप सिक्न इच्छुक जनशक्ति लगायतका सरोकारवालाको सहभागितामा वृह्त रोजगार मेला आयोजना गरिने विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।
अध्ययनरत युवाहरुलाई स्वरोजगारीका अवसरहरु जुटाएर ‘आफैले कमाई, आफ्नै पढाई’ को स्थित सिर्जना गर्न सुदूरपश्चिम प्रदेश सरकारको समन्वय र सहकार्यमा रात्रिकालिन बजार सञ्चालन गर्ने व्यवस्था मिलाइने विषय पनि नीति तथा कार्यक्रममा राखिएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि ‘सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार’ कार्यक्रमलाई सञ्चालन गरिनेछ।
यसका लागि विभिन्न दाताहरुको सहयोग र सहकार्यमा थप शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न ‘उपमहानगर शिक्षा विकास कोष’ मा थप रकम जुटाउन पहल गरिनेछ। ‘सफा उपमहानगर स्वस्थ जनता, गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता’ भन्ने नारालाई आत्मासाथ गर्दै आधारभुत स्वास्थ्य सेवालाई प्रभावकारी तथा गुणस्तरीय बनाउन स्वास्थ्य संस्थाहरुलाई आवश्यक पर्ने पूर्वाधार, औषधि, उपकरण लगायतका अन्य स्रोतसाधनमा अभिवृद्धि गर्दै प्रविधिमैत्री बनाउँदै लगिनेछ।
‘एक वडा एक एम्बुलेन्स’ कार्यक्रम अन्तर्गत एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाइनुका साथै घरैमा हुने सुत्केरीलाई शून्य पार्नका लागि आमा बचाउ अभियानलाई सशक्त पारिदै लगिने विषयमा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
‘एक घर पाँच योग र पाँच जडिबुटी’ कार्यक्रम सुरुवात गरिनेछ। ‘स्वास्थ्य जीवनशैली, आहार विहार भान्साघर पहिलो अस्पताल’को अवधारणा लागु गर्न प्रत्येक विद्यालयमा आयुर्वेद तथा योग जीवन सहयोगी शिक्षा सञ्चालन गरिनेछ। ‘एक वडा एक मैदान’ निर्माण कार्यलाई निरन्तरता दिइनेछ। उपमहानगर क्षेत्रभित्रका सार्वजनिक स्थानहरुमा क्याफे सहितको आधुनिक स्मार्ट शौचालय निर्माण गर्दै लगिने लगायतका विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उपमहानगरपालिकाले समावेश गरेको छ।