बैतडी- बैतडीमा भुवन टमट्टाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०० नम्बरको जिप दुर्घटना भएको छ । गोठालाापानी बाट झुलाघाट तर्फ जाँदै गरेको जिप दशरथचन्द नगरपालिका–१० को बाराकोट भन्ने स्थानमा दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । मृत्यु हुनेमा भारतको पिथौरागढकी २१ वर्षीया मीना जोशी रहेकी छन् ।
यस्तै दोगडाकेदार गाउँपालिका–६ की जानकी चुनारा, दशरथचन्द नगरपालिका–६ का ललीतराम टमट्टा र भारतको पिथौरागढका किसन पोहोरा गम्भीर घाइते भएका छन् । गाडीमा चालकसहित ११ जना सवार रहेका थिए । तीन जना सामान्य घाइते भएका छन् भने दुई जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले बताए ।
घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर दुर्घटना भएको खुल्न आएको छ । जिप सडकबाट ३० मिटर तल खसेको थियो ।