

धनगढी- कैलालीको धनगढीमा दुईवटा वडा जोड्ने पुल निर्माण भएको छ । वडा नम्बर ४ र ५ जोड्ने कैलाली खोला पुल उपमहानगरले निर्माण गरेको हो ।

निर्माणाधीन पुलेको भारबहन क्षमता समेत जाँच गरिएको छ । धनगढी–४ र ५ जोड्ने नास्ट कलेज नजिकको पुल निर्माणको ठेक्का करिव ४ करोडमा एलवी एण्ड एबी बिल्डर्सले पाएको हो । २५ मिटर लम्बाई र ५ दशमलव ५ मिटर चौडाइको छ। धनगढी उपमहानगरपालिकाले सातवटा आरसिसी मोटरेबल पुल निर्माण गरिरहेको छ ।
कैलाली खोला, सुकुटी खोला, जोकैया खोला र भादा खोलामा पुल निर्माणको काम भइरहेको हो । २०७९ पुसमा निर्माण सम्झौता भएका पाँच पुलहरूको निर्माण अवधि १८ महिना रहेको छ । सम्झौताअनुसार २०८१ असार १५ मा सम्पूर्ण काम सम्पन्न गर्नु पर्नेमा वडा नम्बर १३ को कैलाली खोला र वडा नम्बर ४ र ५ जोड्ने कैलाली खोलाको पुल सम्झौता अवधी अगावै सम्पन्न हुने देखिएको छ। २०७९ भन्दा अगाडि ठेक्का सम्झौता भएको वडा नम्बर ६ को जोकैया खोला र वडा नम्बर १६ को भादा खोला पुल निर्माणको प्रगति भने प्रभावकारी रुपमा हुन नसकेको इन्जिनियर कमलराज ओझाले बताए ।
उपमहानगरपालिकाले धनगढी–६ को जोकैया खोला, धनगढी–१६ को भादा खोला, वडा नम्बर १ र ८ को सुकुटी खोला, वडा नम्वर १३ कैलाली गाउँको कैलाली खोला, नास्ट कलेज नजिक, वडा नम्बर १ र २ जोड्ने साथी होटल पछाडि र साइकेन्द्र देखि तारानगर जाने बाटोमा आरसिसी मोटरवेल पुल निर्माण गरिरहेको छ। १८ महिनामा पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गर्न उपमहानगर र निर्माण कम्पनी बिच सम्झौता भएको हो ।