धनगढी- कैलालीका जलाधार अधिकृत विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले सेवाग्राही सँग १ लाख २० हजार घुस मागेको पुष्टि भएपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नगहरि घिमिरेले बताए ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालगञ्जको टोलीले वैशाख ५ गते सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो । उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख २० हजार बिगो मागदाबी गरेको अख्तियारले जनाएको छ । उनी विरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ ।