कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नगर चक्रपथ सडक निर्माण अगाडि बढाइएको छ । नगरपालिकाका १२ वटै वडा जोड्ने गरी चक्रपथ निर्माण गरिन लागेको हो ।
नगरपालिकाको पाँच करोड र सङ्घीय सरकारको पाँच करोड गरी रु १० करोडको लागत साझेदारीमा चक्रपथ सडक निर्माण हुन लागेको नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाप्रमुख दीपक धामीले बताए। सडक निर्माणका लागि बोलपत्र आह्वान ई इबिड को कार्य गरिएको छ ।
तीन वर्षभित्र सडक निर्माण गर्नका लागि ठेक्का सम्झौता गरिएको उनले बताए । चक्रपथ सडकको कूल लम्बाइ ११ दशमलव सात किलोमिटर मध्ये ६ किलोमिटर सडक पहिलो चरणमा निर्माण हुने उनले बताए ।
चक्रपथ सडक निर्माणका लागि सङ्घीय सरकारबाट १ करोड अनुदान रकम प्राप्त भएको उनले बताए । पहिलो चरणमा नगरपालिका–१२ कालागौडी चौराहादेखि वडा नं १ को खजुवापट्टि हुँदै वडा नं २ को रानीपुर, वडा नं ३ को जोनापुर, पिपलाडी सम्मको सडक निर्माणको कार्य हुनेछ ।
सडक सुरक्षाका लागि सडक जोगाउन आवश्यक भएका क्षेत्रमा ३ करोडको लागतमा तटबन्ध निर्माण कार्य हुन्छ, शाखाप्रमुख धामीले भने, सोह्र भन्दा बढी ठाउँमा ह्युमपाइप र कल्भर्ट निर्माण कार्य हुन्छ । उनका अनुसार १२ मिटर चौडाइको सडकमा सात मिटर चौडाइमा कालापत्रको कार्य गरिनेछ । ‘ओपन ग्रेडेड प्रिमिक्स कार्पेट’ प्रविधिअनुसार सडकमा २० एमएम मोटाइको कालोपत्रको कार्य गरिने धामीको भनाइ छ । सडक गुणस्तर युक्त बनाउनका लागि नियमित अनुगमन, निर्माण सामग्रीको गुणस्तर बारे जाँचको कार्य हुने उनले बताए ।
चक्रपथ निर्माण गरी नगरपालिकाले १२ वटै वडालाई जोड्ने लक्ष्य लिएको छ । यस अघि नै चक्रपथ निर्माणका लागि नगरपालिकाले विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार गरिसकेको छ । रासस