धनगढी- सुदूरपश्चिममा तीन जिल्लाका ६९ स्थानमा डढेलो लागेको छ । कैलालीमा मात्र एकै दिन चार स्थानमा आगलागी भएर ९ लाख बढीको धनमालको नोक्सानी भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका–८ का टीकाराम जोशीको काठले बनेको कच्ची घरमा शुक्रवार दिउँसो विद्युतीय मिटर बक्स सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घरभित्र रहेका नगद, सुन, अन्न, भाँडावर्तन, कपडा लगायतका सामान जलेर करिब पाँच लाख बराबरको धनमालको क्षति भएको छ ।
त्यस्तै, जोशीपुर गाउँपालिका–१ जोशीपुरका नन्दन बोहराले सञ्चालन गरेको कुखुरा फर्ममा पनि आगलागी भएको छ । जोशीपुर भजनी सडक किनारमा रहेको विद्युतको पोलबाट तार सर्ट भएर शुक्रवार दिउँसो आगलागी भएको हो । आगलागीबाट कुखुरा फर्म र फर्ममा रहेका ४ क्वीन्टल कुखुरा जलेर करिब दुई लाख बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। भजनी नगरपालिका–२ पल्टुपुरका जितबहादुर विक र रामलखन चौधरीको काठ र खरले बनेको कच्ची घरमा पनि शुक्रवार आगलागी भएको छ । आगलागीबाट करिब एक लाख ८० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । गहुँ काटेको खेतमा लगाएको आगो फैलन पुगेपछि आगलागी भएको हो । शुक्रवार नै जानकी गाउँपालिका–९ पुर्वी खैरिफाँटका रमेश जैशीको गाईगोठमा आगलागी हुँदा गाईगोठ पूर्ण रुपमा जलेर करिब ५० हजार बराबरको क्षति भएको छ ।
प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। नासाले स्याटेलाइटबाट लिएको तस्बिरका आधारमा विश्लेषण गर्दा पछिल्लो २४ घण्टामा पश्चिम तराई र पहाडी क्षेत्रमा डढेलो धेरै देखिएको छ । सामुदायिक र राष्ट्रिय वन मात्र नभएर संरक्षित वनमा पनि डढेलो छ । सबै भन्दा बढी कैलालीमा ३० ठाउँमा डढेलो लागेको छ । त्यस्तै डडेल्धुरामा २४ र डोटीमा १५ ठाउँमा डढेलो लागेको छ ।