धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले गत वर्ष जस्तै यो वर्ष पनि अपाङ्गता भएका व्यक्तिलाई खोजी–खोजी सहायता सामग्री वितरण गर्ने भएको छ ।
अपाङ्गता भएका व्यक्तिको पहिचान गरी सहायता सामग्री वितरण गर्न अहिले नगरपालिकाको विभिन्न पाँच स्थानमा स्क्रिनिङ्ग शिविर सञ्चालन भइरहेको छ। आइतवार धनगढी–१० जुगेडा सहरी स्वास्थ्य केन्द्रमा नापजाँच शिविर सम्पन्न भएको छ । वडा नम्बर ९, १० र १२ का अपाङ्गता भएका ७० जना व्यक्तिको कान, आँखा र शारीरिक अवस्थाको जाँच गरिएकोमा ४५ जनाले सहयोगी सामग्री आवश्यक रहेको पहिचान गरिएको नगर प्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ ।
यस अघि फूलबारीमा ७५ जना तथा उर्मा सहरी स्वास्थ्य केन्द्रमा भएको नापजाँचमा ७० जना अपाङ्गता भएका व्यक्तिको नापजाँच गरिएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपाल धनगढी, कैलालीद्वारा धनगढी उप–महानगरपालिकाको विभिन्न पाँच स्थानमा अपाङ्गता नापजाँच शिविर हुनेछ ।
धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा इम्प्याक्ट नेपाल, गेटा आँखा अस्पताल र सेती प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिको खोजी र नापजाँच भइरहेको छ । नापजाँच पछि सम्पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री प्रदान गरिनेछ ।