कैलालीको  टीकापुरमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका कार्यको नक्साङ्कन

टीकापुर- कैलालीको टीकापुरमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका क्षेत्रमा पालिका र सेवा प्रदायक सङ्घसंस्थाले गर्ने कार्यको नक्साङ्कन गरिएको छ। टीकापुर नगरपालिकामा सञ्चालित कार्यक्रमबारे पालिका र सङ्घसंस्थाबीच भएको छलफलले कार्यको नक्साङ्कन गरेको हो । यस क्षेत्रमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका क्षेत्रमा दर्जन बढी सङ्घसंस्थाले काम गरिरहेका छन् । 

पालिकामा सेवा दिइरहेको संस्थाले कुन क्षेत्रमा काम गरिरहेको छ भन्ने जानकारी सरोकारवाला सबैलाई हुनुपर्ने टीकापुर–४ का वडाध्यक्ष लालवीर चौधरीले बताए । सामाजिक विकास समिति संयोजक समेत रहनु भएका वडाध्यक्ष चौधरीले सङ्घसंस्थाका कामबारे जानकारी भएमा कार्ययोजना बनाउन सहज हुने बताए । एकै वडामा धेरै संस्था कार्यरत रहेकाले आगामी दिनमा सुधार गर्दै जानुपर्ने उनले बताए । ‘टीकापुरमा साविकका दुई गाविस धनसिंहपुर र नारायणपुर गाभिएका छन् । गाभिएका वडामा विगतदेखि नै धेरै संस्था कार्यरत छन्’, वडाध्यक्ष चौधरीले भने, ‘कतिपय वडामा एउटै उद्देश्यका धेरै संस्था कार्यरत छन् । नक्साङ्कन भएमा कार्यक्रम नभएका वडामा पनि कार्यक्रम गर्नुपर्छ भनी योजना बनाउन सकिन्छ ।’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा महिला बालबालिका शाखा संयोजक सङ्गीता शाहले नक्साङ्कनले अब पालिकामा बाल संरक्षण र लैङ्गिक हिंसा न्यूनीकरणमा काम गर्न सहज हुने बताउनु भयो । ‘हरेक संस्थाको कामबारे नक्साङ्कन भएमा समन्वय गर्न, उद्धार तथा राहतमा सहयोग पुग्नेछ’, उनले भने, ‘पालिका तथा हरेक वडामा सङ्घसंस्थाका काम र सम्पर्क व्यक्तिबारे जानकारी राखिनेछ ।’ 

सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक तिलक चौधरीले सङ्घसंस्थाले गर्ने कार्यक्रमबारे जानकारी भएमा समुदायमा सेवा प्रवाहमा पहुँच र सुसूचित गर्न, सहजीकरण गर्न, दोहोरोपन न्यूनीकरणमा सघाउने भएकाले नक्साङ्कन गर्न थालिएको बताए । गुड नेभर्स इन्टरनेशनलका रञ्जित चौधरीले टीकापुर पालिका भित्र रहेका विकास साझेदार सङ्घसंस्थाको पहिचानमा सहयोग हुने भएकाले आउँदा दिनमा दिगोरूपमा कार्यक्रम कसरी गर्ने र प्रभावकारी कसरी बनाउन सकिन्छ भनी सघाउने बताए ।

सेवक नेपाल कैलालीका प्रेम चौधरीले नक्साङ्कन गर्दा एकअर्का सङ्घसंस्था र सेवा प्रदायकका कामबारे जानकारी हुने भएकाले सहज हुने बताए । कार्यक्रममा सङ्घसंस्थाका प्रतिनिधि र पालिकाका विषयगत शाखाका प्रमुखहरूको सहभागिता थियो ।

Loading...