सुदूरपश्चिममा १० दिन भित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

धनगढी- सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागी दावी पेस गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय १० दिनभित्र अर्थात बैशाख २ गते सम्मका लागि तोकिएको छ ।

प्रदेश प्रमुख नजिर मिँयाले आज संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई बैशाखको २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका हुन ।

‘माननीय मुख्यमन्त्री कमल बहादुर शाहले २०८० साल चैत २२ गते हिजो बिहीबार संविधानको धारा १६९ (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिएकाले माननीय प्रदेश प्रमुख नजिर मियाँ ज्यूले नेपालको संविधानको धारा १६८ (२) बमोजिम सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०८१ बैशाख २ गते आइतबार बेलुकी ५ बजे भित्र दाबी पेश गर्न आह्वान गर्नु भएको छ’ प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य छन् । नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ । सङ्घीय सरकार अनुसार गठबन्धन बनाउन आवश्यक संख्या भन्दा बढी ३१ जना प्रदेश सभा सदस्य छन्। तर सात सदस्य रहेको नागरिक उन्मुक्ती पार्टी आन्तरिक विवादमा फसेकोले नयाँ सरकार बन्न कठिनाइ भइरहेको छ ।

सङ्घीय सरकारमा रहेका नेकपा (एमाले), नेकपा ( माओवादी) संग १०/१० जना र नेकपा (एकीकृत समाजवादी) संग चार जना प्रदेश सभा सदस्य गरेर २४ मात्र रहेका छन् । एमाले, माओवादी, एकीकृत समाजवादीका शीर्ष नेतका बीचमा सुदूरपश्चिमका पहिलो चरणमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । सो सहमति अनुसार काठमाडौँमा रहेका प्रदेश सभा सदस्यहरू धनगढी आएपछि सरकार दाबी पेश गर्ने प्रयास हुने बताइएको छ । प्रदेश सभामा नेपाली कांग्रेसका १८, राप्रपा र स्वतन्त्रका १/१ जना प्रदेश सभा सदस्य छन् ।

Loading...