धनगढी- सुदूरपश्चिममा कानुनी परामर्शपछि सरकार गठन गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छैनन् ।
विश्वासको मत पाउने अवस्था नभएपछि मुख्यमन्त्री शाहले बिहीवार साँझ प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँ कानुनी परामर्शमा जुटेका छन् ।
शाह संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका थिए । अब नयाँ सरकार गठनका लागि उपधारा (५) अनुसार आह्वान गर्ने कि उपधारा (२) मा फर्किने भन्ने विषयमा प्रदेश प्रमुख कानुनी परामर्श गर्ने भएका हुन् । प्रदेश प्रमुखको कार्यालयका सचिव शैलेश ढुङ्गानाले प्रदेश प्रमुख कानुनी परामर्शपछि मात्र नयाँ सरकार गठनका लागि आह्वान गर्ने बताए ।
संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार गठनका आह्वान गरेमा अहिलेकै अवस्था रहे प्रदेश सभा विघटनको जोखिम हुने भएकाले उपधारा (२) अनुसार जादा एउटा विकल्प बाँकी रहने कतिपयको तर्क छ तर उपधारा (३) अनुसार नियुक्त सरकार ढलेका कारण उपधारा (५) मै जान उपयुक्त हुने सुझाव समेत दिइएको छ।