धनगढी- धनगढीमा नयाँ वर्षका दिन हाफ म्याराथन प्रतियोगिता-२०२४ हुने भएको छ। धनगढी जेसीजको आयोजनामा अब धनगढी दौडिन्छ भन्ने नाराका साथ १० औँ संस्करणको हाफ म्याराथन प्रतियोगिता आयोजना हुन लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
धनगढी जेसीजले २०७१ साल देखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ । २०७७ सालमा कोरोनाका कारण उसले प्रतियोगिताको आयोजना गर्न नसकेपछि २०७१ साल देखि प्रतियोगिता गर्दै आएको आयोजक धनगढी जेसीजले जनाएको छ । म्याराथन चार वटा विधामा हुनेछ । २१ दशमलव १ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार ४४४ र तेस्रो हुनेले ३३ हजार ३३३ रकम पुरस्कार पाउने रहेको छ ।
यस्तै कर्पोरेट तथा सञ्चार विधामा ५ किलोमिटर, महिला तर्फ ५ किलोमिटरको दौड हुनेछ । ती दुबै विधामा पहिलो हुनेले ६ हजार ६६६, दोस्रो हुनेले ४ हजार ४४४ र तेस्रो हुनेले ३ हजार ३३३ रकम पुरस्कार पाउनेछ । यस्तै ट्राईसाइकल विधामा पनि म्याराथन हुने र सम्मान सहित पुरस्कार दिइने आयोजकले जनाएको छ ।
२०८१ को बैशाख १ गते धनगढी रङ्गशालाबाट सुरु हुने हाफ म्याराथनमा आयोजकले ४ हजार प्रतियोगीहरुको सहभागिता रहने अनुमान गरेको जनाएको छ । जेसीजले युवाहरूको व्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि हरेक वर्ष यस प्रतियोगिताको आयोजना गर्दै आएको जनाएको छ ।