राप्रपाले सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने/नगर्नेबारे बनाउन सकेन धारणा

धनगढी- राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेशको कार्य सम्पादन समितिको बैठक प्रदेश सरकारमा सहभागिताको निणर्य नगरी सकिएको छ । बुधबार धनगढीमा सम्पन्न बैठकमा सुदूरपश्चिम प्रदेश सरकारकाबारेमा समेत छलफल भएको थियो तर कुनै निणर्य नभएको कार्य सम्पादन समितिका सचिव छत्र बहादुर शाहीले जानकारी दिए ।

प्रदेश सचिव शाहीका अनुसार बैठकमा सरकारलाई समर्थन गर्नुपर्ने र गर्न नहुने दुबै मत आएको छ । ‘समर्थन गर्ने अवस्थामा सरकारमै जानुपर्छ भन्ने सुझाव पनि आएका छन् तर आज कुनै निणर्य हुन सकेन’, शाहीले भने । यो विषयमा केन्द्रीय कार्य सम्पादन समितिले फेरि एक पटक ९ वटै जिल्लाका अध्यक्षसँग प्रदेश सरकारका बारेमा छलफल गर्ने भएकाले तत्काल कुनै निणर्यमा नपुगिएको शाहीले बताए ।

केन्द्रमा सत्ता समीकरण फेरिए पछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बहुमत पुर्‍याउन नागरिक उन्मुक्ति पार्टीका ५ जनालाई मन्त्री बनाएका छन् । शाहलाई कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जनाको मात्र समर्थन भएकाले उनले बहुमत पुर्‍याउन राप्रपा र स्वतन्त्र सांसद डा.तारा प्रसाद जोशीको साथ खोजेका छन् । दुवैले समर्थन गरेमा मात्र उनलाई चाहिने बहुमत प्रदेश सभा सदस्य २७ जना पुग्छ ।

तर राप्रपा र स्वतन्त्र सांसदले नागरिक उन्मुक्ति पार्टीभित्र सरकारको विषयलाई लिएर दुई धार भएकाले ७ जनालाई नै विश्वासमा लिए पछि मात्र आफूहरुले समर्थन गर्ने वा नगर्ने निणर्य गर्ने जवाफ मुख्यमन्त्रीलाई दिएका छन् । दुवैले समर्थन गरेमा मात्र उनलाई चाहिने बहुमत प्रदेशसभा सदस्य २७ जना पुग्ने भएकाले मुख्यमन्त्री फकाउन सक्रिय छन् ।

Loading...