धनगढी- धनगढी उपमहानगरपालिकाको प्रवेशद्वारमा जग्गा कारोबारीले ताला लगाएका छन् । कित्ताकाट गरेर जग्ग्गाको कारोबार सहज गर्नुपर्ने भन्दै तालाबन्दी गरिएको हो । प्रवेशद्वारमा जग्गा कारोबारीले लगाएको ताला भने तत्काल फुटाइएको छ । नगर प्रहरीले ताला फुटाएको हो ।
धनगढीका जग्गा कारोबारीले कित्ताकाट हुनु पर्ने माग गर्दै तालाबन्दी गरे पनि धनगढी उपमहानगरले बनाएको कित्ताकाट सम्बन्धी कार्यविधिको बिरोध गर्दै सर्वोच्चमा दायर रिटका कारण जग्गाको प्लटिङ र कित्ताकाट रोकिएको उपमहानगरले जनाएको छ ।
जग्गा कारोबारीले अदालतमा मुद्दा हालेका कारण अदालतको अन्तिम फैसला नआउन्जेल उपमहानगरले चाहेर पनि जग्गाको प्लटिङ र कित्ताकाट गर्ने अवस्था नभएको नगर प्रमुख गोपाल हमालले बताए । नगर प्रमुख हमालले सर्वोच्चमा हालेको मुद्दाका कारण कित्ताकाट रोकिएको बताए । उनले मुद्दा फिर्ता लिएपछि प्लटिङको जग्गाको कित्ताकाट सम्बन्धी निणर्य लिन सकिने अवस्था रहेको बताएका छन् ।