सुदूरपश्चिममा पुरुष भन्दा महिलाको संख्या डेढ लाखले बढी
नौ वटै जिल्लाको जनसंख्यामा कैलालीको सबै भन्दा बढी र दार्चुला सबै भन्दा कम
धनगढी- सुदूरपश्चिम प्रदेशभित्र पुरुषको तुलनामा महिलाको संख्या बढी छ । प्रदेशभित्र पुरुषको तुलनामा महिलाको संख्या १ लाख ४९ हजार २ सय ११ ले बढी छ । जिल्लागत रुपमा सबै भन्दा बढी कैलालीमा महिलाको संख्या बढी देखिएको छ । जिल्लामा ४ लाख ७१ हजार २ सय १० महिला र ४ लाख ३३ हजार ४ सय ५६ मात्र पुरुष जनसंख्या देखिएको छ । नेपालको पछिल्लो जनसंख्या २०७८ अनुसार सबै भन्दा कम जनसंख्या दार्चुलामा देखिएको छ ।
जिल्लामा पुरुषको तुलनामा महिलाको संख्या भने बढी छ । दार्चुलामा ६८ हजार ८ सय ८६ महिला र ६४ हजार ४ सय २४ पुरुष जनसंख्या रहेको छ । कैलाली पछि कञ्चनपुरमा सबै भन्दा बढी जनसंख्या रहेको छ । सो जिल्लामा पनि महिलाको संख्या उच्च देखिएको छ । कञ्चनपुरमा २ लाख ७३ हजार ७१ महिला र २ लाख ४० हजार ६ सय ८६ जनसंख्या पुरुषको देखिएको छ ।
बैतडीमा पनि महिलाको संख्या उच्च देखिएको छ । जिल्लामा १ लाख २८ हजार २ सय ९३ महिला र १ लाख १३ हजार ८ सय ६४ पुरुष, डडेल्धुरामा ७३ हजार ७ सय ९ महिला र ६५ हजार ८ सय ९३ पुरुष, बझाङमा १ लाख ६ सय १५ महिला र ८८ हजार ४ सय ७० पुरुष जनसंख्या रहेको छ ।
त्यस्तै बाजुरामा ७१ हजार ४ सय ५३ महिला र ६७ हजार ७० पुरुष, डोटीमा १ लाख ११ हजार २ सय २७ महिला र ९३ हजार ६ सय ४ पुरुष तथा अछाममा १ लाख २३ हजार ५ सय ३३ महिला र १ लाख ५ हजार ३ सय १९ पुरुष जनसंख्या रहेको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा पुरुषको तुलनामा महिलाको संख्या सबै भन्दा बढी देखिएको छ । सुदूरपश्चिमका ९ जिल्लाहरु मध्ये कैलाली जिल्लाको जनसंख्या सबै भन्दा बढी ९ लाख ४ हजार ६ सय ६६ र दार्चुला जिल्लाको सबै भन्दा कम १ लाख ३३ हजार ३ सय १० जनसंख्या रहेको छ ।
बैतडी, डडेलधुरा, बझाङ, डोटी र अछाम जिल्लामा २०६८ सालको जनसंख्याको तुलनामा जनसंख्या वृद्धिदर घटेको छ भने अन्य जिल्लाहरुमा बढेको छ । २०७८ सालको जनगणना अनुसार कैलाली जिल्लाको जनसंख्या सबै भन्दा बढी १६ दशमलव ६२ प्रतिशतले बढेको छ भने अछाम जिल्लाको जनसंख्या ११ दशमलव १२ प्रतिशतले घटेको छ ।
२०७८ सालको जनगणनाको अन्तिम प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्याको ९ दशमलव २४ प्रतिशत हिस्सा रहेको यस प्रदेशको वार्षिक औषत जनसंख्या वृद्धिदर शुन्य दशमलव ५२ प्रतिशत रहेको छ ।
त्यसैगरी जनघनत्व १३९ जना प्रति वर्ग किलोमिटर रहेको छ जुन राष्ट्रिय जनगणना २०६८ मा १३१ जना प्रति वर्ग किलोमिटर थियो । यस प्रदेशको जनसंख्यामा पुरुषको संख्या १२ लाख ७२ हजार ७८६ र महिलाको संख्या १४ लाख २१ हजार ९ सय ९७ रहेको छ । लैंगिक अनुपात सबै भन्दा बढी मधेश प्रदेशमा १००.५५ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा सबै भन्दा कम ८९.५१ प्रतिशत रहेको छ ।