

धनगढी- कैलालीको चुरे गाउँपालिका क्षेत्र भित्रका ‘ट्र्याक’ खोलिएका ग्रामीण सडकको स्तरोन्नति गर्ने काम सुरु भएको छ । ट्र्याक खुलेका कच्ची सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु गरिएको हो ।



चौमाला-गर्भा दरबार, चौमाला-खैराला, सहजपुर-अलाडनिगाली, देउराली-मौरे सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीले बताए ।


स्तरोन्नति हुन लागेको सडकमध्ये सहजपुर-अलाडनिगाली सडकको २०६५ साल अघि नै ट्र्याक खुलेको थियो । चौमाला-गर्भा दरबार, चौमाला-खैराला, देउराली-मौरे सडक भने तीन वर्षअघि नै ट्र्याक खुलेको जनाइएको छ ।
सङ्घीय सरकार र प्रदेश सरकारको समपूरक अनुदानबाट अहिले सडक स्तरोन्नति गर्न थालिएको हो । निर्माण कम्पनीले गाउँपालिका सँग सम्झौता भई चालू आर्थिक वर्षको असारसम्म स्तरोन्नति सम्पन्न हुने गरी काम सुरु भएको इन्जिनियर जोशीले बताए । रासस